• २१ जेठ २०८१, सोमबार

लगानी सहजीकरणसम्बन्धी अध्यादेश प्रतिनिधि सभामा पेस

blog

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी प्रतिनिधिसभा बैठकमा “लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१” पेश गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, जेठ ८ गते । प्रतिनिधि बैठकमा ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस भएको छ । मङ्गलबार बसेको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उक्त अध्यादेश पेस गर्नुभयो ।

सो क्रममा मन्त्री भण्डारीले नेपालमा लगानीको वातावरण सहज बनाउन आयोजना गरिएको लगानी सम्मेलन(२०८१ का क्रममा नीतिगत सुधार तथा कानुन परिमार्जन गर्नका लागि लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश जारी गरिएको बताउनुभयो ।

सो समयमा संसद् अधिवेशन चालु नभएकाले अध्यादेश ल्याइएको उहाँले स्पष्ट पार्नुभयो । प्रस्तुत विधेयकले स्टार्टअप उद्योग दर्ता, उद्योगको सञ्चालन म्याद थप, विदेशी लगानी प्रविधि हस्तान्तरण गर्ने विषयमा थप स्पष्टता, करारमा वस्तु उत्पादन गर्ने विषय र विशेष आर्थिक क्षेत्रका उद्योगले पाउने सहुलियतलाई वृद्धि गरेको मन्त्री भण्डारीले जानकारी दिनुभयो । रासस