• १३ मंसिर २०८१, बिहिबार

‘सहकारीको रकम अपचलनबारे छानबिन हुनै पर्छ’

blog

काठमाडौँ, जेठ ७ गते । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारीमा भएको आर्थिक अनियमितता, अपचलन र बचत रकम ठगीका सन्दर्भ संसदीय छानबिन समिति गठन गर्ने आफ्नो पार्टीको अडान कायम रहेको बताउनुभएको छ । 

उहाँले आइतबार पत्रकार सम्मेलन गरी काँग्रेसले उठाएको सहकारीको विषय बचतकर्ताको पाँच खर्ब रुपियाँभन्दा बढी रकम भएको अपचलन र ७३ लाख बचतकर्ताको जीवनसँग जोडिएको विषय रहेको बताउनुभयो । उहाँले शक्तिशाली पदमा रहेका व्यक्ति सहकारी ठगीमा संलग्न रहेकाले तिनलाई कारबाही गर्नु पर्छ भन्ने अडानमा काँग्रेस रहेको बताउनुभयो । 

महामन्त्री थापाले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेका सन्दर्भमा उठेका प्रश्नमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन हुने र त्यसको कार्यादेशमा उहाँको नाम समावेश हुने प्रस्ट पार्नुभयो । उहाँले संसदीय छानबिन समिति चोख्याउने नभई, सहकारीबाट ठगिएका नागरिकको भविष्यसँग जोडिएको विषय रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “सांसद रवि लामिछानेको विषयमा छानबिन गरौँ भनेको होइन । उहाँ अहिले उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनुहुन्छ । उहाँको काममा प्रश्न उठेकाले समिति गठन गर्नुपरेको हो । म दोषी देखिए मैले कारबाही भोग्ने हो, तपाईं दोषी देखिए तपाईंले सजाय भोग्ने हो ।”

महामन्त्री थापाले विभिन्न विषयमा नेतामाथि लागेका आरोपबाट फाइल खोल्न, समिति बनाउन गृहमन्त्री र संसद्मै प्रस्ताव लिएर आउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “गृहमन्त्रीले छानबिन समिति बनाउने हो । मेरो अनुसन्धान गर्ने भए तेरो पनि गर्दिऊँ ? भन्ने होइन । गल्ती गरेको छ भने निर्णय गर्ने हो, अनुसन्धान गर्ने हो, कारबाही गर्ने हो, फैसला गराउने हो ।”