• १९ असार २०८१, बुधबार

मालपोतका कार्यालय प्रमुखसहित आठ जनाविरुद्ध २४ करोडको भ्रष्टाचार मुद्दा

blog

काठमाडौं, जेठ ६ गते। मालपोत कार्यालय, टीकापुर कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रमाइलीसहित आठ जनाविरुद्ध २४ करोड छ लाख ६९ हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार कैलाली, साविक नारायणपुर–८ अन्तर्गतको कित्ता नम्बर ९०८ को क्षेत्रफल १५–०–० ज.बि. (बिघा) जग्गा फिल्डबुकमा जङ्गल भनी कायम भएकोमा कित्ताकाट गरी मालपोत कार्यालय, टीकापुरबाट २०६८ सालमा व्यक्तिको नाममा कायम गरेको अनुसन्धानबाट खुलेको हो। 

फिल्डबुकमा जङ्गल जनिइसकेको सरकारी सार्वजनिक प्रकृतिको जग्गाबाट कित्ताकाट गरी व्यक्ति विशेषको नाममा कायम गर्ने कार्यमा संलग्न कर्मचारी तथा उक्त जग्गा आफ्नो नाममा कायम गराउने व्यक्तिलाई कारवाही हुने भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा रसाइलीसहित नायब सुब्बा अग्नीबहादुर शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

सरकारी सार्वजनिक जग्गा विन्द्रा रावल, कमलबहादुर रावल, सुशील बहादुर रावल, विमलबहादुर रावलको संयुक्त नाममा स्रेस्ता पूर्जा कायम गरी हस्तान्तरण गरेको र पछि उक्त जग्गाको दर्ता स्रेस्तासम्बन्धी सम्पूर्ण कागजात कार्यालयको अभिलेखबाट समेत नष्ट गरेको पुष्टि भएर आर्थिक वर्ष २०८०÷८१ को मालपोत कार्यालय टीकापुरको न्यूनतम मुल्याङ्कन पुस्तिकामा उल्लिखित २४ करोड छ लाख ६९ हजार रुपियाँ सार्वजनिक सम्पत्तिको हानिनोक्सानी पुर्‍य ाएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

यसैगरी, नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवम् नापी अधिकृत मानबहादुर चन्द र सर्वेक्षक दशरथ मण्डलले उक्त जग्गा व्यक्तिको नाममा कायम गर्ने उद्देश्यले कार्यालयको अभिलेखलाई अनदेखा गरी जग्गा हकभोगको हो भन्ने व्यहोराको प्रतिवेदन पेश गरेको आयोगले जनाएको छ।

आयोगका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरुविरुद्ध २४ करोड छ लाख ६९ हजार रुपियाँ बिगो कायम गरी जङ्गलको नाममा रहेको जग्गा यथावत् कायम गर्ने गरी निजहरुको भोग हटाउने आदेश हुन मागदाबी लि आइतबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।