• १२ साउन २०८१, शनिबार

प्लास्टिकले माटोको भाँडा बनाउने पेसा सङ्कटमा (फोटो फिचर)

blog

भक्तपुर नगरपालिका वडा नम्बर ४ मा माटाका भाँडा बनाउँदै र सुकाउँदै । तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, जेठ ५ गते । आधुनिकता तथा सहजताका लागि प्लास्टिकका सामग्री प्रयोग गर्ने बढेसँगै माटोको भाँडा प्रयोग गर्नेक्रम घट्दो छ । पछिल्लो समय न्यून रूपमा मात्रै माटोको भाँडा प्रयोग गरिन्छ भने अधिकांश प्लाष्टिकको सामग्री प्रयोग गर्ने प्रचलन बढेको हो । बजारमा सहजरूपमा पाइने प्लास्टिकका भाँडाका कारण माटोका भाँडा लोप हुने अवस्थामा पुगेका हुन् ।

भक्तपुर नगरपालिका वडा नम्बर ४ का ३३ वर्षीय साजन प्रजापति माटोको भाँडा बनाउन व्यस्त हुनुहुन्थ्यो । उहाँ पुर्ख्यौली पेसालाई निरन्तर मेहनतका साथ अगाडि बढाइरहनुभएको छ । १० वर्षको उमेरदेखि बाजे, बाबुले गर्नुभएको पेसालाई निरन्तरता दिँदै आउनुभएका उहाँले माटाका भाँडा बनाएरै आफ्नो जीवन निर्वाह गर्नुभएको छ । 

उहाँले दैनिक २० देखि ५० केजीसम्म माटोबाट विभिन्न आकृतिका सामग्री बनाउँदै आउनुभएको छ । उहाँले भाँडाका खुत्रुके, कलश, पाला, धुपौरो लगायतका सामाग्री बनाउनुभएको हो । 


एक दशक अघिसम्म माटोको भाँडा बनाएर जीविका चलाउने परिवार धेरै भए पनि अहिले यो पेसा गर्नेको सङ्ख्या दिनहुँ घट्दै गएको छ । पढ्न, जागिर खान र बिदेसिनेको क्रम बढेपछि यो पेसा अहिले सङ्कटमा छ । दोस्रो पुस्तासम्मले यो पेसा अङ्गाले तेस्रो पुस्ताले भने यो पेसालाई नगरेकाले अहिले माटोको भाँडा बनाउने पेसा नै सङ्कटमा परेको हो । 

त्यस्तै भक्तपुरका रोशन प्रजापति उमेरले ५० नाघिसक्दा उत्तिकै फुर्तीका साथ माटाका भाँडा बनाउन व्यस्त हुनुहुन्छ । सानै उमेरदेखि पारिवारिक पेसाका रूपमा माटाका भाँडा बनाउँदै आउनुभएका प्रजापति पुख्यौंली पेसा भएकाले खेल्दा खेल्दै सानो उमेरदेखि भाँडा बनाउन सिकेको बताउनुहुन्छ । 

जीवनको पाँच दशक काटेका प्रजापतिले यो पेसाबाट गुजरा चलेको बताउँदै पहिलेको तुलनामा माटोको भाँडा बिक्री हुनेक्रम घटेकोप्रति चिन्ता व्यक्त गर्नुभयो। 

जमिनको करिब १५-२० फिट तलबाट खाल्डो खनेर निकालिएको चिम्ट्याइलो माटोबाट माटाका भाँडा बनाउने गरिन्छ । भाँडा बनाउनका लागि माटो किनेर ल्याउने गरेको प्रजापतिले बताउनुभयो । पहिले थोरै शुल्कमा माटो किन्न पाए पनि अहिले जग्गा प्लटिङ हुनथालेपछि महँगोमा माटो किन्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

विशेष गरेर भक्तपुर क्षेत्रमा बनाइने माटोका भाँडा बनाउने परम्परागत पेसा लोप हुने अवस्थामा पुगेको छ । प्लास्टिकका भाँडा बढी प्रयोगमा भएकोले माटोको भाँडोको बजार नरहेको र भविष्यमा यो पेसा पूर्ण रूपमै लोप हुने अवस्थामा पुगेकाप्रति प्रजापतिले चिन्ता व्यक्त गर्नुभयो ।