फडिन्द्र अधिकारि
लेखनाथ, जेठ ४ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारी अभियान धराशायी भए संविधान नै अपूरो हुने औँल्याउनुभएको छ । राज्यले अवलम्बन गरेको तीन खम्बे अर्थनीतिको एक खम्बा सहकारीमा देखिएका समस्या समाधान गर्दै सहकारीका सिद्धान्तअनुरूप चल्ने वातावरण बनाउन सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । “सहकारी अभियान समाप्त भयो भने संविधान नै अपुरो हुन्छ, तीन खम्बामध्ये एक खम्बा भाँचिन्छ,” उहाँले भन्नुभयो, “बोनस, भ्रमणबाहेक सहकारी सञ्चालनका अरू पक्षमा पनि सेयर सदस्यहरूले चासो राख्नुपर्छ ।” सञ्चालकहरूको लापरबाहीको सिकार सहकारी अभियान भएको उहाँको दाबी छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन)ले सहकारी विभागको सहकार्यमा शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । साकोस जोखिम विश्लेषण कार्यशालामा उहाँले नियमक निकायहरूले अनुगमन, प्रोत्साहन, सजाय नगरी सहकारी अभियान्तामाथि दोष थुपारेरमात्र समस्याको समाधान नहुने उहाँले उल्लेख गर्नुभयो ।
रोजगारी सिर्जना, उत्पादनमा काम गरे-नगरेको र सहकारीका सिद्धान्तको पालनबारे सेयर सदस्यले चासो राखे सहकारीहरू नबिग्रने उहाँको भनाइ छ । सञ्चालकहरूको बदमासीले राजनीतिक वृत्तमा समेत ठुलो चुनौती देखिएको उहाँले औँल्याउनुभयो ।
नेफ्स्कुन अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीको जोखिम स्तर विश्लेषण गर्न सक्ने बनाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।