• १ असार २०८१, शनिबार

संसदमा काँग्रेसले असभ्य व्यवहार देखायोः एमाले अध्यक्ष ओली

blog

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली । फाइल तस्बिर

काठमाडौँ, जेठ ४ गते। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली काँग्रेसले असभ्य व्यवहार गरेको बताउनुभएको छ। 

बिहीबारको प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङको व्यवहार असभ्य भएको उहाँको भनाइ थियो। बिहीबारको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न सभामुख देवराज घिमिरेले समय दिएसँगै काँग्रेसले रोष्टममा जान नदिएपछि अध्यक्ष ओली स्वयं नै उठेर रोष्टममा जान इसारा गर्नुभएको थियो। 

अध्यक्ष ओलीको इसारापछि उपसभापति गुरुङले ओलीको नजिकै आएर औंला ठड्याउँदै चर्को स्वरमा नारा लगाएको दृश्य देख्न सकिन्छ। अध्यक्ष ओलीले शुक्रबार सो बारेमा संसद् भवन परिसरमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै काँग्रेसले उत्ताउलोपन देखाएर सत्तापक्ष र मन्त्री बसेको रोमा आएको बताउनुभयो। उहाँले काँग्रेस सांसदले अपशब्द प्रयोग गरेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘भिडन्त भएन, काँग्रेसहरुले उत्ताउलोपन देखाएर हामी बसेको ठाउँमा आएर मन्त्रीको रो भित्र छिर्ने, म बसेको ठाउँमा आउने अनि अनेक अपशब्द बोल्ने खालको सभ्य व्यवहार भएन। म आफ्नो ठाउँमा बसेको थिएँ। सरकारबाट मैले हटाइदिएको भन्ने आरोप लगाएको होला।’

अध्यक्ष ओलीले काँग्रेसका सांसदहरुले सरकारबाट आफूले हटाइदिएको आरोपमा रिस देखाउँदै आफूमाथि असभ्य व्यवहार गरेको बताउनुभयो।