काठमाडौं, जेठ ४ गते। राष्ट्रिय सभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध जनाएको छ। सभाको कार्यतालिकामा प्रवेश गर्न नपाउँदै नेपाली कांग्रेसका सांसदले उठेर विरोध जनाएपछि सभा अवरुद्ध भएको हो।
बैठकमा कांग्रेस सांसदले उठेर विरोध जनाएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाका प्रक्रिया अघि बढाउन नसकिएको भन्दै सभालाई सहज रूपमा सञ्चालन गर्न व्यवस्था दिन आग्रह गर्नुभयो।
उहाँले समस्या राष्ट्रिय सभामा उत्पत्ति नभएकाले विरोध नगरिदिन आग्रह गर्नुभयो। उहाँले सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई लिएर धन्यवाद ज्ञापन समेत गर्न नपाएको र राष्ट्रपति कार्यालयबाट प्राप्त सूचनासमेत पढेर सुनाउन नसकेको स्थिति बनेको भन्दै सहज रूपमा अघि बढाउने माहौल निर्माण गरिदिन आग्रह गर्नुभयो।
राष्ट्रिय सभाको अर्को बैठक २०८१ साल जेठ ६ गते आइतबार दिउँसो सवा १ बजे बस्नेगरी स्थगित भएको छ।