• १३ साउन २०८१, आइतबार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा 'युएसजी' मेसिन जडान

blog

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भ भएको अत्याधुनिक भिडियो एक्सरे सेवाको उद्घाटन गर्दैै लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र पुन ।

लिालधर वली

घोराही, जेठ ३ गते । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक भिडियो एक्स-रे (युएसजी) मेसिन जडान गरिएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले अत्याधुनिक सुविधायुक्त भिडियो एक्स-रे मेसिन प्रतिष्ठानलाई हस्तान्तरण गरेपछि जडान गरिएको हो । 

उक्त भिडियो एक्स-रे सेवाको बिहीबार स्वास्थ्यमन्त्री दीपेन्द्र पुनले रिबन काटेर सेवाको प्रारम्भ गर्नुभएको थियो । मन्त्री पुनले प्रदेश सरकारकोतर्फवाट सुविधा सम्पन्न भिडियो एक्स-रे प्रतिष्ठानलाई प्रदान गरेको भन्दै अस्पतालको सेवालाई चुस्तदुरुस्त र बिरामी मैत्री बनाउन आग्रह गर्नुभएको थियो । प्रतिष्ठान प्रदेशकै गौरवको आयोजना भएको भन्दै उहाँले स्वास्थ्य क्षेत्रमा दाङलाई हवका रूपमा विकास गर्न प्रदेश सरकारले ध्यान दिने बताउनुभएको थियो । उहाँले भन्नुभयो, “प्रतिष्ठान स्वास्थ्यका दृष्टिले पश्चिम क्षेत्रको केन्द्र बनेको छ, अव यसका सेवालाई विकास गर्दै सबैले भरोसा गर्ने बनाउन सक्नुपर्छ ।”

प्रतिष्ठानले एमडी पढाई सुरु गरिरहेको र एमबिबिएसको पढाई पनि सुरु गर्ने गरी तयारी अघि बढाएकाले प्रदेश सरकारले ल्याब स्थापनादेखि पूर्वाधार निर्माणका लागि प्रदेश सरकारसँगै केन्द्र सरकारसँग समन्वय गर्ने बताउनुभएको थियो । त्यसक्रममा मन्त्री पुनले प्रतिष्ठानको ओपिडी, इमरजेन्सी, सर्जरीलगायत विभिन्न विभागहरूको समेत स्थलगत अवलोकन गर्नु भएको थियो ।  

प्रतिष्ठानमा अब फिलिप्स कम्पनीको नयाँ भिडियो एक्स-रे मेसिनबाट फोरडी इमेज, कलेजो स्पष्टसहित देखिने र बच्चाहरूको विभिन्न अङ्गहरू पनि सजिलै देख्न सकिने प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराइले जानकारी दिनुभयो । प्रतिष्ठानमा नयाँ भिडियो एक्स-रे थपिएसँगै यसको सङ्ख्या २ पुगेको छ । भिडियो एक्स-रे गर्ने रेडियोलोजिष्ट चिकित्सकहरूको सङ्ख्या ३ पुगेको छ । सो अवसरमा प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कँडेलले प्रतिष्ठानको विस्तारित सेवाको बारेमा जानकारी गराउनुभएको थियो । 

प्रतिष्ठानमा सिटी स्क्यान, आइसियु, एमआरआई, एनआइसियु, पिआइसियु जस्ता महत्त्वपूर्ण सेवाहरूसँगै चिकित्सकहरू पनि थपिँदै गएकाले अब सामान्य उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभएको थियो । 

प्रतिष्ठाका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले प्रतिष्ठानको सेवालाई मजबुत बनाउँदै शैक्षिक कार्यक्रमलाई पनि अघि बढाइरहेको बारेमा मन्त्रीलाई जानकारी गराउनुभएको थियो। उहाँले विएनएस र विएसस्सी नर्सिङ, डाक्टरको स्नातकोत्तर तह (एमडी)को पढाई सुरु गरेर शैक्षिक कार्यक्रमको सुरुवात गरिएको जानकारी दिनुभएको थियो । उहाँले होलेरीमा प्रतिष्ठान र प्रदेश स्वास्थ्य मन्त्रालयको समन्वय र व्यवस्थापनमा विशिष्टिकृत सेवा छिट्टै दिने गरी तयारी गरिएको बताउनुभयो । प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले प्रतिष्ठानले आफ्नो सेवासँगै शैक्षिक तथा अनुसन्धानमूलक कामहरू पनि अघि बढाएको बताउनु भयो । एमबिबिएसको कक्षा सञ्चालनको लागि प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयको साथ अपरिहार्य रहेको बताउनुभएको थियो ।