• १२ साउन २०८१, शनिबार

नक्कली धातु दिएर सुन लैजाने पक्राउ

blog

पक्राउ परेका सन्जित शर्मा। तस्बिर : झापा प्रहरी

विष्णुप्रसाद पोखरेल

दमक, जेठ ३ गते। सुनजस्तो धातु देखाएर झापाको दमकमा ज्येष्ठ नागरिक र महिलालाई ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। नक्कली सुन दिएर सक्कली सुन लैजाने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।

दमक नगरपालिका हाट बजारको क्षेत्रमा ज्येष्ठ नागरिक र महिलालाई विभिन्न मितिहरूमा सुन जस्तो पहेँलो धातुको टिल देखाई नगद तथा महिलाले लगाएका सुनका गर–गहनासँग सट्टापटा गरी ठगी गर्ने कार्यमा संलग्न मोरङ उर्लाबारी नगरपालिका ५ का ३० वर्षीय सन्जित शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पीडितले गरेको उजुरी र दिएको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएर खोजतलास गर्ने क्रममा दमक नगरपालिका–६ स्थित पशुहाटबाट सुन जस्तो देखिने पहेँलो धातु सहितफेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभएको छ।

बुधबार पक्राउ गरेर बिहीबार जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान भइरहेको चन्दले बताउनुभयो। झापाका विभिन्न ठाउँमा यस प्रकारको ठगी भइरहेको भन्ने सूचना पाइएकाले सचेत हुन उहाँले आग्रह गर्नु भएको छ।