• १३ साउन २०८१, आइतबार

ज्येष्ठ नागरिक तथा अशक्तको लागि घरघरमा स्वास्थ्य सेवा

blog

गुणबहादुर रोका 

सुलीकोट, जेठ ३ गते । गोरखा जिल्लाको ११ स्थानीय तहमध्ये गण्डकी गाउँपालिकाले गाउँ सभाबाट बजेट विनियोजन गरी पालिका भित्रका सबै वडाहरूमा ज्येष्ठ नागरिक तथा अशक्तहरूको लागि घर घरमा डाक्टर पठाएर सेवा प्रदान गर्दै आएको छ । 

अशक्त र ज्येष्ठ नागरिकहरूलाई पनि स्थानीय सरकार छ भन्ने अनुभूति गर्ने गरी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गरी रकम छुट्टाएको छ । जसले गर्दा स्थानीय सरकार पनि ज्येष्ठ तथा अशक्त नागरिकको लागि सारथि बन्न पुगेको हो । अहिले गाउँपालिका भित्रका सबै वडाको घर घरमा पुगेर अशक्त, असहाय र ज्येष्ठ नागरिकहरूलाई सहज पहुँच पुग्ने गरी घरघरमा डाक्टर कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कुमार सुनारले जानकारी दिनुभयो । 

उहाँका अनुसार धेरै जसो घरहरूमा सानासाना बालक र बृद्धहरुको सङ्ख्या बढी रहेकाले उपचारको लागि स्वास्थ्य संस्थामा जान कठिन भएकाले त्यसलाई मध्यनजर गर्दे गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरी काम सुरु गरेको उहाँले बताउनुभयो । गाउँपालिकाले उपलब्ध गराएको नियमित स्वास्थ्य चेकजाँचले स्वास्थ्य समस्याको बारेमा यकिन गरी गाउँपालिकामा उपचार हुने भए निःशुल्क उपचार तथा बाह्रय रिफर गर्नु पर्ने भए गाउँपालिकाले बिरामी व्यक्तिको आर्थिक अवस्था हेरेर सहयोग गर्दै आएको गाउँपालिकाका अध्यक्ष दीपक तिमेल्सना साकारले जानकारी दिनुभयो । 

गाउँपालिकाको गाउँ सभाबाट पारित स्वास्थ्य कार्यक्रम अन्तर्गत प्रत्येक महिनाको अन्तिममा डाक्टर सहित स्वास्थ्यकर्मीको टोली घर घरमा गएर सुगर प्रेसरको समस्याको जाँच गर्नुका साथै दिर्गरोगीको अन्य स्वास्थ्य अवस्थाको बारेमा समेत जानकारी लिने गरेको पाइएको छ । रोग लाग्न साथ त्यसलाई चेकजाँच नगरी एक्कासि चेकजाँच गर्नाले ठुलो रकम लाग्ने गरेकाले पनि हरेक महिनाको एक पटक घरमै गएर स्वास्थ्य उपचार गरिएको हो । 

घरमै पुगेर स्वास्थ्यकर्मीले आवश्यकता अनुसार स्वास्थ्य परामर्श दिने, खानपान र सरसफाइको बारेमा सुझाव दिँदै आवश्यकताका आधारमा औषधी उपलब्ध गराई स्वास्थ्य चेकजाँच गरिँदै आएकाले गण्डकी गाउँपालिकाका ज्येष्ठ, असहाय तथा अशक्त नागरिकहरू खुसी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले जानकारी दिनुभयो ।