• १२ साउन २०८१, शनिबार

विपन्नको जीवनस्तर उकास्न बाख्रा वितरण

blog

तस्बिर : रासस

कमलामाई (सिन्धुली),जेठ ३ गते । कार्यालयको समयमा सधैँ जसो सेवाग्राहीको बाक्लै चहलपहल हुने कमलामाई नगरपालिका, सिन्धुलीको कार्यालयमा गत आइतबार बाख्राको भीड लाग्यो । प्रायः सेतो र खैरो रङ्ग मिसिएका बोएर क्रस जातको बाख्रा आकर्षक पनि थिए । 

हेटौँडाको सिमलथली एग्रो फार्मबाट गाडीमा पाँच घण्टा लगाएर ती बाख्रा ल्याइएको थियो । कानमा पहेँलो रङ्गको मुद्रा (बिमा गरिएको सङ्केत नम्बर) लगाइएका ती बाख्रा गाडीभित्र कराउन थाले । नगर प्रमुख उपेन्द्रकुमार पोखरेल, उपप्रमुख मञ्जु देवकोटा, नगर पशु विकास शाखा प्रमुख रोशन कोइरालालगायतले गाडीमा रहेका ८३ वटा बाख्रा झारेर कार्यालय पछाडि रहेको खुल्ला जमिनमा चराउन थाल्नुभयो । 

सोही ठाउँमा कनपा-११ का वडाध्यक्ष रामबहादुर थिङ्ग र कनपा-१२ का वडाध्यक्ष भीमबहादुर गुर्मछानेले आ-आफ्नो वडामा रहेका विपन्न तथा एकल महिलालाई लिएर आउनुभयो । नगर प्रमुख पोखरेल र उपप्रमुख देवकोटाले ४० जना लक्षित वर्गलाई चरिरहेका बाख्रा प्रदान गर्नुभयो । उन्नत जातका बाख्रा पाएपछि किसानहरूले खुसी व्यक्त गरेका छन् । कनपा-१२ भ्याकुरेका देवीबहादुर आलेमगरले बिमा गरिएको सङ्केत नम्बर ४८४७ र ४८७० को बाख्रा पाउनुभयो । नगरबाट निःशुल्क बाख्रा पाउँदाको खुसी उहाँको अनुहारमा छरपस्ट छरिएको थियो । 

उहाँले भन्नुभयो, “व्यावसायिकरुपमा बाख्रा पाल्ने रहर थियो, किन्ने क्षमता थिएन । आज सरकारले दुई वटा बाख्रा दिएको छ, अब यसैलाई बढाउँदै धेरै बनाएर पाल्ने हो ।” अब बाख्रापालनको लागि खोर बनाउन सहयोग गरिदिए सहज हुने उहाँले बताउनुभयो । विपन्न तथा एकल महिलाको आर्थिक जीवनस्तर माथि उठाउन व्यावसायिक बाख्रापालनलाई प्रोत्साहन गर्ने नगरको प्राथमिक योजनामा छ । सोही योजनाअनुरूप चालु आर्थिक वर्षमा विपन्न लक्षित बाख्रा अनुदान कार्यक्रम सञ्चालन गरिएको हो । 

यस कार्यक्रमका लागि चालु आवमा ६० लाख बजेट विनियोजन भएको छ । विनियोजित बजेटले दुई सय आठ ओटा बाख्रा खरिद गरेर कनपाका पाँच वडामा वितरण गर्ने कार्य सुरु भएको पशु विकास शाखाका प्रमुख कोइरालाले जानकारी दिनुभयो । विद्युतीय प्रणाली बिजक (इलेकट्रोनिक बिलिङ) मार्फत ५९ लाख ८० हजारमा दुई सय आठ ओटा बाख्रा खरिद गरिएको थियो । त्यसमध्ये एक सय २८ ओटा बाख्रा वितरणको प्रक्रियामा छ । 

किसानलाई व्यावसायिक बाख्रापालनमा प्रोत्साहन गरेर जिल्लालाई मासुमा आत्मनिर्भर बनाउने र विपन्न तथा एकल महिलालाई आर्थिक उपार्जनमा सबल बनाउने कार्यक्रमको उद्देश्य रहेको छ । नगर पशु विकास शाखाका अनुसार बोयर जातको बाख्राको पाठा-पाठी छिटो-छिटो बढ्ने र हुर्कने गर्दछन् । यसको तौल दैनिक दुई तीन सय ग्रामसम्म बढ्दै जान्छ । गाउँघरमा अन्य बाख्रा जस्तै गरी स्थानीय घाँस दाना खुवाएर पाल्न सकिन्छ । 

बाख्रा वितरणको लागि कमलामाई नगरपालिकाले मापदण्ड बनाएको छ । वितरण मापदण्डअनुसार वडा समितिले निर्णय गरेर, गरेको सिफारिसअनुसार उन्नत जातका बाख्रा वितरण भएको छ । वितरण गरिएका बाख्राको बसाई व्यवस्थापनको लागि खोर निर्माण र आहारा तथा पालनपोषणमा पनि सहयोग गर्ने लक्ष्य रहेको कनपा उपप्रमुख तथा नगर कृषि संयोजक मञ्जु देवकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “कृषि तथा पशुपालनको लागि वडा-वडामा प्राविधिक खटाएका छौँ । नगरले आगामी दिनमा आवश्यकताको आधारमा सहयोग गर्नेछ ।” रासस