• १२ साउन २०८१, शनिबार

कारागार भवन निर्माण सुरु

blog

निर्माण कार्य भइरहेको कारागार भवन। तस्बिर : राजन रावत

राजन रावत 

हुम्ला, जेठ २ गते। लामो समयपछि जिल्लामा कारागार भवन निर्माण कार्य सुरु भएको छ। सघन सहरी विकास कार्यालय जुम्लाले यसै आर्थिक वर्षमा बजेटको व्यवस्था गरेपछि कारागारको भवन निर्माण कार्य सुरु भएको हो। 

प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जिल्ला प्रहरी हाता भित्रै रहेको कारागारको आफ्नै जग्गामा भवन निर्माण कार्य सुरु गरेको बताउनुभयो। 

उहाँले पटक पटकको आग्रहपछि कारागार भवन निर्माण अगाडि बढेको जानकारी दिनुभयो। पुरानो जीर्ण भवन भत्किएको १७ वर्षपछि कारागारको नयाँ भवन निर्माण कार्य भएको हो। 

कारागार भवनका लागि यसअघि घेरवार भइसकेको थियो। भवन निर्माणका लागि धेरै निकायसँग हारगुहार गरिएको भए पनि त्यो काम सम्भव भएको थिएन। 

भवन निर्माणका लागि लगानी गर्ने सघन सहरी विकास कार्यालय जुम्लाका सब–इन्जिनियर विमल रावतले भवनको चालिस प्रतिशत कार्य पुरा भएको बताउनुभयो। 

आगामी असार मसान्तसम्म निर्माण कार्य सम्पन्न हुने उहाँले बताउनुभयो। यसका लागि कार्यालयले दुई करोड १९ लाख लागतमा भवन निर्माण कार्य भइरहेको हो। 

कारागारको भवन नहुँदा १३ जना कैदीबन्दी थुनुवासँग प्रहरी हिरासतमा बस्दै आएका छन्। सबै कैदीबन्दीलाई प्रहरीले हाल दुई वटा कोठामा राख्दै आएको छ। कारागार नभएको कारण प्रहरीले निक्कै कठिनाइका साथ कैदीबन्दीको व्यवस्थापन गर्दै आएको छ।