• १२ साउन २०८१, शनिबार

१६ औं योजनाको लक्ष्य : कुल गार्हस्थ उत्पादन एक सय खर्बभन्दा माथि पुर्‍याउने

blog

काठमाडौँ, जेठ २ गते । राष्ट्रिय योजना आयोगले १६ औं आवधिक योजनामा आर्थिक वर्ष २०८५/८६ सम्म नेपालको कुल  गार्हस्थ उत्पादन (जीडीपी) एक सय खर्ब रुपियाँभन्दा माथि पुर्‍याउने लक्ष्य राखेको छ ।

बुधबार राष्ट्रिय योजना आयोगले १६ औं आवधिक योजनाको लक्ष्यहरु सार्वजनिक गर्दै आर्थिक वर्ष २०८५/८६ सम्म नेपालको कुल  गार्हस्थ उत्पादन (जीडीपी) एक सय तीन खर्ब सात अर्ब रुपियाँ पुर्‍याउने लक्ष्य पुर्‍याउने जनाएको हो ।

आयोगले पञ्चवर्षिय योजनामा २०८०/०८१ मा ५७ खर्बमाथि पुग्ने अनुमानका आधारमा २०८५/८६ सम्म जीडीपी एक सय तीन खर्ब सात अर्ब रुपियाँ पुग्ने लक्ष्य राखेको आयोगका प्रवक्ता यमलाल भुसालले बताउनुभयो । उहाँले आर्थिक वर्ष २०८५/८६ मा नेपालको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य १६ औं योजनाले लिएको बताउनुभयो । उहाँले १६ औं योजनामा औसत आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुने लक्ष्य लिएको बताउनुभयो ।

आगामी आर्थिक वर्ष २०८१/८२ मा ६ प्रतिशत, २०८२/८३ मा ६.६, २०८३/८४ मा ७.४, २०८४/८५ मा ७.९ र २०८५/८६ मा ७.२ प्रतिशतको आर्थिक वृद्धिदर कायम हुुने लक्ष्य १६ औं योजनाले लिएको उल्लेख गर्नुभयो । उहाँले नेपालीको एक हजार ४५६ अमेरिकी डलर प्रतिव्यक्ति आय रहेकामा आगामी पाँच वर्ष अर्थात् आर्थिक वर्ष २०८५/८६ सम्म प्रतिव्यक्ति आय वार्षिक दुई हजार तीन सय ५१ अमेरिकी डलर पुर्‍याउने गरी प्रतिव्यक्ति आय बढ्ने लक्ष्य राखिएको बताउनुभयो ।

यस्तै, गरिबीको रेखामुनि रहेको जनसङ्ख्या १२ प्रतिशतमा झार्ने पनि आयोगको लक्ष्य लिएको पनि बताउनुभयो । १६ औं योजनाले मुद्रास्फीति ५ प्रतिशतभित्र कायम राख्ने, औषत आयु ७३ वर्ष र साक्षरता ८५ प्रतिशत पुर्‍याउने, बेरोजगारी दर ५ प्रतिशतमा सीमित गर्ने १६ औं योजनाको लक्ष्य राखेको छ ।

प्रवक्ता भुसालले १६ औं योजनाले विद्युत् उत्पादन ११ हजार सात सय ६९ मेगावाट र विद्युत पहुँच शतप्रतिशत जनसङ्ख्यामा पुर्‍याउने र इन्टरनेट ९० प्रतिशत जनसङ्ख्यामा पुर्‍याउने लक्ष्य लिएको पनि बताउनुभयो । त्यस्तै, कृषि क्षेत्रमा २१ प्रतिशत योगदान र गैरकृषि क्षेत्रमा ७९ प्रतिशत पुर्‍याउने लक्ष्य योजनाले राखेको छ । १६ औं योजनामा आगामी पाँच वर्षमा सार्वजनिक, निजी र सहकारी गरी २.६ प्रतिशतले लगानी बढाउने लक्ष्य राखेको छ ।