• १२ साउन २०८१, शनिबार

धार्चे गाउँपालिकाको खोर्लाबेशीमा डम्पिङ साइड तयार

blog

धार्चे गाउँपालिकाबाट निस्कने फोहोरहरु सङ्कलनका लागि खोर्लाबेशीमा तयार भएको डम्पिङ साईड । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका
सुलीकोट, जेठ २ गते । धार्चे गाउँपालिकाबाट निस्कने फोहोरहरू सङ्कलनका लागि खोर्लाबेशीमा डम्पिङ साइड तयार भएको छ । धार्चे गाउँपालिका र धार्चे पर्यटन बोर्डको संयुक्त साझेदारीमा खोर्लाबेशीमा डम्पिङ साइड तयार भएको धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिनुभयो ।

उहाँका अनुसार पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको मनास्लु पदमार्गमा निर्माण गरिएको डम्पिङ साइड निर्माणमा पर्यटन बोर्डबाट कुल रकमको ४० प्रतिशत र धार्चे गाउँपालिकाबाट ६० प्रतिशत खर्चबाट डम्पिङ साइड निर्माण गरी तयार गरिएको हो ।

गाउँपालिकाले लागत स्टामेट गरेको बजेटभन्दा बढी खर्च भएकाले स्थानीयलाई एक लाख बराबरको जनश्रमदान गर्न लगाइएको गाउँपालिकाले जनाएको छ । डम्पिङ साइड निर्माणका लागि कुल बजेट सात लाख ५५ हजार ४१ रुपियाँ ६६ पैसा खर्च भएको छ । जसमध्ये गाउँपालिकाको तर्फबाट चार लाख १६ हजार ४३० र धार्चे पर्यटन बोर्डबाट दुई लाख ८३ हजार ५७० रुपियाँ साथै जनश्रमदानबाट एक लाख बराबरको काम भएको छ ।

धार्चे गाउँपालिका–३ खोर्लाबेशीमा विदेशी पर्यटकको असाध्यै चाप हुने भएकाले पर्यटकहरूबाट गरिने फोहोर व्यवस्थापन गर्न पर्यटकीय पदयात्रा सफा र स्वच्छ तथा हराभरा बनाउनका लागि डम्पिङ साइड तयार पारिएको गाउँपालिकाले जनाएको छ ।

अहिले धार्चे गाउँपालिकाको खोर्लाबेशी भएर उत्तरी गोरखकाको विश्व प्रख्यात मनास्लु हिमाल, वीरेन्द्र ताल, काल ताल, शृङ्गी हिमाल, श्रीगी गुम्बा, कल्छुमान ताल लगायत लार्केपास गरी विदेशी पर्यटकहरू मनाङ पनि जाने गरेको गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत सुनारको भनाइ छ ।