• १२ साउन २०८१, शनिबार

एमाले बाँके जिल्ला अधिवेशन : अध्यक्षका लागि चार जना प्रतिस्पर्धामा

blog

सिराज खान
नेपालगन्ज, जेठ २ गते । 
नेकपा (एमाले) बाँकेको नवौँ जिल्ला अधिवेशन तथा नयाँ निर्वाचनका लागि ४५९ जना प्रतिनिधि छनोट गरिएका छन् । यही जेठ ४ र ५ गते हुने अधिवेशनको सबै तयारी पूरा भएको समेत एमाले बाँकेले जनाएको छ ।

जिल्लाको अध्यक्षसहित १२० जनाको नयाँ नेतृत्व चयनका लागि निर्वाचनमा सहभागी हुने ४५९ जना प्रतिनिधिको छनोट सम्पन्न गरिएको हो ।

तीन निर्वाचन क्षेत्र रहको बाँके जिल्लाका ८१ वटै वडा, भातृ सङ्गठनलगायतका प्रतिनिधि छनोटका इकाईहरूबाट जिल्ला अधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि छनोट गरिएको एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले बताउनुभयो ।

उहाँले प्रतिनिधि छनोटसँगै अधिवेशनको सबै तयारी पूरा भएको जनाकारी दिनुहुँदै अधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने  कार्यक्रम रहेको बताउनुभयो ।

अधिवेशनबाट जिल्लाको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष किस्मतकुमार कक्षपति, पूर्वअध्यक्ष निरक गुरुङ, वर्तमान उपाध्यक्ष डिल्ली बिसी र नेता घननाथ खनालबिच प्रतिस्पर्धा हुने भएको छ ।

कक्षपति वर्तमान अध्यक्ष हुनुहुन्छ भने गुरुङ नेकपा कालमा अध्यक्ष हुनुभएको थियो । बिसी उपाध्यक्ष हुनुहुन्छ भने खनाल प्रदेश कमिटीमा हुनुहुन्छ ।

अध्यक्षका लागि प्रतिस्पर्धामा देखिनुभएका चारैजना लोकप्रिय नेता मानिनुहुन्छ । अन्तिमसम्म चारैजनाको उम्मेदवारी रह्यो भने निर्वाचन रोचक हुने कार्यकर्ताहरू बताउँछन् ।

वर्तमान अध्यक्ष कक्षपतिले आफूले पूरा कार्यकाल बिताउन नपाएको र यो समयमा जिल्लामा पार्टीलाई बलियो बनाएकाले आगामी कार्यकालमा दोहोरिने तयारी गरेको बताउनुभयो ।

अध्यक्षका अर्का आकाङ्क्षी डिल्ली बिसीले आफू उपाध्यक्ष बनिसकेकाले अध्यक्षमा जाने स्वाभाविक बाटो भएकाले अध्यक्षमा प्रतिस्पर्धा गरिरहेको बताउनुभयो । सोही प्रकारले पूर्व अध्यक्ष गुरुङ र नेता खनालले पार्टीलाई झन् बलियो बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ । 

उपाध्यक्षमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्री र रवीन्द्र लम्साल, सचिवमा बलराम भट्टराई, भीम वली, दत्तप्रसाद आचार्य, खिमा भुसाललगायतका नेताहरूले प्रतिस्पर्धा गर्ने देखिएको छ भने उपसचिवमा सबैभन्दा बढी करिब १२ जनाले उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ ।