काठमाडौं, वैशाख ३१ गते। नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले सोमबार दिउँसो प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्रीसमेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छलफल गर्नुभएको छ।
सभामुख घिमिरेले कांग्रेस सभापति देउवा र रास्वपा सभापति लामिछानेलाई राष्ट्रपति उपस्थित हुने सदनको संयुक्त बैठकअघि नै राजनीतिक सहमति जुटाउन आग्रह गर्नुभयो।
उहाँले राष्ट्रप्रमुख उपस्थित हुने र अवलोकनका लागि कूटनीतिज्ञलाई आमन्त्रण गरिसकेकाले सौहार्दपूर्ण वातावरण बनाउने भूमिका खेल्न आग्रह गर्नुभएको छ।
सभापति देउवाले आफूहरूले गृहमन्त्रीको राजीनामा माग नगरेको बताउँदै संसदीय छानबिन समितिको अडानबाट पछाडि हट्न नसकिने बताउनुभयो।
उहाँले सरकारले छानबिन समिति बनाउने अवस्था आए आगामी बैठकहरू स्वतः सुचारु हुने उल्लेख गर्नुभयो। सभापति देउवाले प्रतिपक्षीको आवाजलाई नजरअन्दाज गर्न नमिल्ने बताउनुभयो।
रास्वपा सभापति लामिछानेले राष्ट्रपतिलाई धन्यवाद दिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा आफूलाई बोल्न दिनुपर्ने भनाइ राख्नुभयो। जवाफमा सभामुख घिमिरेले बैठकमा बोल्ने वातावरण भए आफूले समय उपलब्ध गराउने जानकारी दिनुभयो।
सभामुखले सोमबार नै प्रधानमन्त्री र राष्ट्रिय सभाका अध्यक्षसँग छलफल गरिसक्नुभएको छ। उहाँले सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि टेलिफोन संवाद गर्ने तय भएको छ।