अमरराज नहर्की
तनहुँ, वैशाख ३१ गते । नेकपा एमाले तनहुँको १० औ अधिवेशन अन्तर्गत सोमबार मतदान सम्पन्न भएको छ । सर्वसम्मत चयन हुन नसकेपछि तनहुँको सदरमुकाम दमौलीमा आइतबार रातीबाट सुरु भएको मतदान सोमबार बिहान ११ बजे सम्पन्न भएको छ ।
नयाँ नेतृत्वका लागि विष्णुभक्त सिग्देल र हरिराज कँडेल प्यानलै बनाएर चुनावी मैदानमा उत्रिनुभएको छ । सिग्देलको समूहबाट उपाध्यक्षमा श्रीराम कार्की, सचिवमा अनिल पाण्डे, उपसचिवमा आरके पोख्रेल र महिला उपसचिवमा बसुन्धरा घर्ती उम्मेदवार हुनुहुन्छ । कँडेल समुहबाट उपाध्यक्ष राजेश्वर हड्खले, सचिवमा प्रदीपराज अधिकारी, उपसचिवमा खिमबहादुर कुमाल र महिला उपसचिवमा सुनिता नेपाली उम्मेदवार बन्नुभएको छ ।
नेताहरुले सर्वसम्मत नेतृत्व छान्ने प्रयास गरे पनि आकांक्षीहरुको व्यवस्थापन गर्न नसक्दा निर्वाचन गरिएको थियो । सिग्देल समुहलाई उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र कँडेल समूहलाई स्थायी कमिटीका सदस्य किरण गुरुङको समर्थन छ । बुधबार सुरु भएको अधिवेशनमा अधिवेशनमा ५८५ जना प्रतिनिधी सहभागी छन् । हाल मतगणनाको तयारी भइरहेको छ ।