• १३ साउन २०८१, आइतबार

योग र ध्यानलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बन्दै : उपप्रधानमन्त्री श्रेष्ठ

blog

उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ नेपाल स्वास्थ्य सम्मेलन दोस्रो संस्करणको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै

काठमाडौँ, वैशाख ३१ गते । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । नेपाल स्वास्थ्य सम्मेलन दोस्रो संस्करणको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘हामीले उपचारको धेरै कुरा गर्छौं । रोग लाग्न नदिने कुरामा ध्यान दिन सकेका छैनौं । रोग लाग्नै नदिने विषयमा केन्द्रित हुन सके स्वास्थ्य क्षेत्रमा सकारात्मक सुधार हुने थियो ।’’ साथै उहाँले आर्थिक वर्षको नीति तथा कार्यक्रममा योग र ध्यानलाई विशेष प्राथमिकतामा राखिएको बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘नेपालको बजेट प्रणालीमा सबै खर्च रोग, त्यसको उपचार र साधनस्रोतमा खर्च भइरहेको छ । यसको एउटा हिस्सालाई रोकथाममा खर्च गर्न जरुरी छ । यसका लागि हामीले यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यानलाई विशेष प्राथमिकतामा राखेका छौं ।’’

योग र ध्यान पूर्वीय चिन्तन र संस्कृतिको पक्ष हो । यो हाम्रो जीवनशैली हो । यसले मानसिक र शारीरिक स्वास्थ्यको प्रवर्द्धन गर्नुपर्ने बताउनुहुँदै मन्त्री श्रेष्ठले स्वास्थ्यको बहस गर्दा योग र ध्यानलाई छुट्याउन नहुनेमा जोड दिनुभयो ।

साथै, मन्त्री श्रेष्ठले यो सम्मेलनबाट आउने निचोडले नीतिनियम बनाउन स्वास्थ्य क्षेत्रको बजेट विनियोजन गर्न सहयोग पुग्ने जिकिर गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल मेडिकल काउन्सिलका पूर्व अध्यक्ष एवम् वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइरालाले स्वास्थ्य सेवाका विविध पक्षमा बहसको आवश्यकता रहेको बताउनुभयो । नेपालमा हालसम्म आउँदा जनताको स्वास्थ्य सेवामा राज्यले लगानी गर्ने र सहजीकरण गर्ने अवस्था आएको भन्दै अब स्वास्थ्य सेवाका मोडलहरुका बारेमा चर्चा गने बेला आएको बताउनुभयो ।

स्वास्थ्य सम्मेलनको क्रममा विभिन्न ६ वटा विषयमाथि विज्ञहरुका बिचमा छलफल हुँदैछ ।