• ३ जेठ २०८२, शनिबार

कांग्रेस संसदीय दल र संसदीय दल कार्यसमिति बैठक सर्यो

blog

काठमाडौँ,  वैशाख ३१  गते ।  नेपाली कांग्रेस संसदीय दल र संसदीय दल कार्यसमितिको आजका लागि निर्धारित बैठक सारिएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आज दिउँसो १ बजेका लागि तय भएको संसदीय दल कार्यसमितिको बैठक र दिउँसो २ बजे बस्ने भनिएको संसदीय दलको बैठक भोलि जेठ १ गते बिहान ९ बजे बस्ने गरी सारिएको जानकारी दिनुभयो ।

पछिल्लो राजनीतिक घटनाक्रम र समसामायिक विषय तथा सहकारी ठगीका बारेमा संसदीय छानबिन समिति गठनलगायतका विषयमा छलफल गर्न बोलाइएको बैठक थप तयारीका लागि एक दिन सारिएको बताउनुभयो ।  “संसद्को बजेट अधिवेशन सुरू भएको छ । भोलि नै सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ तर अहिलेसम्म हामीले उठाउँदै आएको संसदीय छानबिन समिति गठनको विषयमा सहमति भएको छैन । त्यसैले आज दिनभरका घटनाक्रम कसरी अगाडि बढ्छन्, त्यही आधारमा भोली छलफल गरेर आवश्यक रणनीति बनाउँदा उपयुक्त हुने ठानेर हामीले भोलिका लागि बैठक सारेका हौ”, प्रमुख सचेतक लेखकले भन्नुभयो । 

कांग्रेसले सहकारी ठगीका बारेमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने अडान लिँदै आएको छ । यसैबीच, आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को गतिरोध हटाउन कांग्रेसका नेताहरुसँग छलफल गर्नुभएको थियो ।  रासस