• १२ साउन २०८१, शनिबार

चौध अर्ब छत्तिस करोड डलर सञ्चिति

blog

काठमाडौँ, वैशाख ३१ गते । आन्तरिक रूपमा शिथिलताको सामना गरिरहेको मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र भने अत्यन्त सबल अवस्थामा रहेको पाइएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थक वर्ष २०८०/८१ को नौ महिनासम्म (साउन–चैत) को आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार बाह्य क्षेत्रसँग सम्बन्धित अधिकतम सूचक सुदृढ अवस्थामा देखिएको हो । 

प्रतिवेदन अनुसार मुलुकको बैङ्किङ क्षेत्रसँग १४ अर्ब ३६ करोड अमेरिकी डलर सञ्चिति रहेको छ । जुन गत असारको तुलनामा २२.७ प्रतिशतले बढी हो । यस्तो सञ्चिति नेपालको एक वर्षको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने प्रतिवेदनमा उल्लेख छ । 

त्यस्तै उक्त सञ्चितिले १५ महिनाको वस्तु आयात धान्न पुग्ने आकलन छ । कुनै समय सञ्चिति घटेर छ महिनाको मात्र वस्तु तथा सेवा आयात धान्न पुग्ने अवस्थाका कारण सरकारले १४ प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । सोही समय सञ्चिति घटेर सङ्कटकालीन अवस्थामा पुगेको श्रीलङ्कासँग दाँजेर नेपालको बाह्य अवस्थाको तुलना हुने गथ्र्यो । त्यसको दुई वर्षमै नेपालको विदेशी विनिमय सञ्चिति ऐतिहासिक रूपमा उच्च अवस्थामा पुगेको हो । 

विदेशी विनिमय उच्च हुनुमा मुलुक भित्रिने विपे्रषणको वृद्धिदरको महत्वपूर्ण योगदान रहेको तथ्याङ्कले देखाउँछ । प्रतिवेदन अनुसार चैतसम्म मुलुकमा आठ अर्ब १५ करोड अमेरिकी डलर बराबरको विपे्रषण भित्रिएको छ । जुन अघिल्लो वर्षको नौ महिनाको तुलनामा १७.७ प्रतिशतले बढी हो । 

समीक्षा अवधिमा मुलुकको चालु खाता एक खर्ब ७९ अर्ब ४८ करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६० अर्ब ४३ करोड रुपियाँले घाटामा थियो । त्यस्तै चैतसम्म तीन खर्ब ६५ अर्ब रुपियाँले शोधनान्तर स्थिति बचतमा देखिन्छ । अघिल्लो वर्षको चैतसम्म शोधनान्तर एक खर्ब ७४ अर्ब रुपियाँले बचतमा थियो । 

घट्यो मूल्यवृद्धि

समीक्षा अवधिमा मूल्यवृद्धि उल्लेख्य रूपमा घटेको पाइएको छ । राष्ट्र बैङ्कका अनुसार चैतमा उपभोक्ता मूल्यवृद्धि केवल ४.६१ प्रतिशत मात्र रहेको छ । जबकि २०७९ चैतमा मूल्यवृद्धि ७.७६ प्रतिशत थियो । 

सबैभन्दा धेरै खाद्य तथा पेय पदार्थको ५.२१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ४.१४ प्रतिशत मूल्यवृद्धि भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । खाद्य तथा पेय पदार्थमध्ये सबैभन्दा धेरै मरमसला उपसमूहको २२.६४ प्रतिशत र तरकारीको १६.९९ प्रतिशतले मूल्यवृद्धि भएको छ । 

गैरखाद्य तथा सेवा समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृतिको १२.६१ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले मूल्यवृद्धि भएको छ । चैतमा थोक मूल्यवृद्धि भने ४.९४ प्रतिशत पुगेको छ । 

क्षेत्रगत हिसाबले सबैभन्दा धेरै पहाडमा ५.३३ प्रतिशत, तराईमा ४.५८ प्रतिशत, हिमालमा ४.३२ प्रतिशत र काठमाडौँ उपत्यकामा ४.०६ प्रतिशतले मुल्यवृद्धि भएको देखिन्छ । नौ महिनासम्म मुलुकको अन्तर्राष्ट्रिय व्यापार विगतको तुलनामा घटेको छ । प्रतिवेदन अनुसार चैतसम्म ३.७ प्रतिशतले घटेर एक खर्ब १४ अर्ब रुपियाँको निर्यात भएको छ । त्यस्तै आयात २.८ प्रतिशतले घटेर ११ खर्ब ६७ अर्ब रुपियाँ कायम भएको छ ।