• ३ जेठ २०८२, शनिबार

अवैध रुपमा ल्याइएको सुनसहित एक जना पक्राउ

blog

काठमाडौं, वैशाख ३० गते। प्रहरीले कतारबाट अवैध रूपमा सुन ल्याइरहेको भन्ने गोप्य सूचनाको आधारमा ३२ वर्षीय जीवन बस्नेतलाई पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार सो सूचनाको आधारमा यसअघि सुनसरी धरान उपमहानगरपालिका वडा नम्बर ५ बस्ने विजयकुमार लिम्बुलाई ५० ग्राम सुन जस्तो देखिने पहेँलो धातुको तयारी गहनासहित पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको थियो।

यसैक्रममा, सुनसरी रामधुनी नगरपालिका वडा नम्बर ७ स्थायी घर भई हाल काठमाडौँ बस्ने बस्नेतलाई गौशालाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्बन्धित व्यत्तिःसम्म पुर्‍याइदिए बापत पाँच हजार रुपियाँ दिने गरेको समेत प्रहरीको अनुसन्धानको क्रममा खुलेको छ।

उनीसहित सुन जस्तो देखिने पहेँलो धातु ५० ग्राम, आइफोन र चार थान मोबाइल र एक लाख ६० हजार रुपियाँ नगद बरामद गरिएको र उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार गौचरण पठाइएको छ।

यसैगरी, वैदेशिक रोजगारमा पठाउने भनी लाखौँ रुपियाँ ठगी गर्ने चार जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार बेलायत पठाउने भनी दश जना पीडितबाट तीन लाख ५० हजारदेखि १२ लाख रुपियाँसम्म उठाइ ५६ लाख ५० हजार रुपियाँ लिई फरार रहेका मकवानपुरका ३० वर्षीय निमा रिन्जिन पक्राउ परेका छन्।

क्यानडा पठाउने भनी १५ लाख रुपियाँ ठगी गर्ने ललितपुरका ५५ वर्षीय प्रकाश बज्राचार्य, ५६ वर्षीय कल्पना बज्राचार्य र स्पेन पठाउने भनी दुई लाख रुपियाँ ठगी गर्ने रामेछापका ३४ वर्षीय चन्द्रमाया कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।