• १६ भदौ २०८१, आइतबार

स्रोत नखुलेको ६ लाख ६८ हजार नगदसहित एक पक्राउ

blog

महोत्तरी, वैशाख ३० गते । महोत्तरीको मटिहानीबाट प्रहरीले स्रोत नखुलेको ६ लाख नेपाली रुपियाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मटिहानी नगरपालिका वडा नं. ६ मा जिल्ला प्रहरी कार्यालय महोत्तरी र मटिहानी प्रहरी चौकीका संयुक्त टोली शनिबार चेकजाँच गरिरहेको समयमा भारतबाट नेपालतर्फ आएका जनकपुर उपमहानगरपालिका वडा नं. १ बस्ने २५ वर्षीय अनिस राईनलाई स्रोत खुलाउन नसकेको रकमसहित पक्राउ गरेको हो ।

भारतबाट मटिहानी तर्फ प्र.२–०२–००४ प ७१६७ नं. को मोटरसाइकलमा आएका राईनलाई प्रहरीले चेकजाँच गर्दा छ लाख ६८ हजार पाँच सय रुपियाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।

राईनको साथबाट एक हजारको दरले ५२९ थान र पाँच सयको दरले २७९ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता जैसवारले केही समयदेखि प्रहरीले चेकजाँचमा कडाई गरेपछि अवैध मालसामानसमेत पक्राउ बढेको बताउनुभयो ।

शुक्रबार मात्रै प्रहरीले महोत्तरी गाउँपालिकाबाट भन्सार छली गरी ल्याएको दुई लाख दुई हजार चार सय ३० रुपियाँ बराबरको कपडा तथा सम्सी गाउँपालिका वडा नं. २ स्थित आँपको बगैचामा राखिएको दुई लाखभन्दा बढीको किराना सामान बरामद गरेर भन्सार कार्यालयमा बुझाएका थिए ।