• १३ साउन २०८१, आइतबार

पितिबाङ खोलामा पानीको बहाव बढेपछि राप्ती राजमार्ग अवरुद्ध

blog

पितिबाङ खोलामा आएको बाढी । तस्बिर : राजु लामिछाने

राजु लामिछाने
रुकुमपश्चिम, वैशाख ३० गते ।
राप्ती राजमार्गअन्तर्गतको रुकुमपश्चिम सडकखण्ड अवरुद्ध भएको छ । राजमार्गको मुसीकोट नगरपालिका ११ र १२ स्थित पितिबाङ खोलामा पानीको बहाव बढेपछि राजमार्ग अवरुद्ध भएको हो । 

शनिबार दिउँसो आएको पानीका कारण खोलामा बाढी आएपछि खोलामा राखिएका ह्युम पाइप बगाएको र राजमार्ग अवरुद्ध भएको मुसिकोट नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष धिरण सिर्पालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार खोलामा आएको बाढी र ह्युम पाईप बगाएपछि यातायातका साधानहरु रोकिएका छन् । रुकुमपूर्वको रुकुमकोट, रुकुमपश्चिमको जिल्ला सदरमुकाम मुसिकोटबाट राप्ती राजमार्ग हुँदै सल्यान, दाङ, नेपालगञ्ज र काठमाडौँ जाने सवारी साधनहरु शनिबार बेलुकादेखि रोकिएका छन् । यसका साथै स्थानीयस्तरमा सञ्चालन हुने सवारी साधनहरु समेत अवरुद्ध रहेको वडा अध्यक्ष सिर्पालीले जानकारी दिनुभयो । यातायात अवरुद्ध भएपछि सयौं यात्रु तथा सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।

डिभिजन सडक कार्यालय चौरजहारीका प्रमुख तेजस्वी शर्माले अहिले पनि बाढी ठुलो मात्रामा रहेकाले तत्कालका लागि डाईभर्सन गर्ने काम भइरहेको जानकारी दिनुभयो । खोलामा पानीको मात्रा कम भएपछि आजै करिब एक दर्जन ह्युम पाइप राखेर यातायात सञ्चालनमा सहजता ल्याउने शर्माको भनाइ छ । अहिले खोलामा स्काईभेटरको प्रयोगमार्फत डाईभर्सनको काम भइरहेको छ ।

पुल निर्माण अलपत्र
यस खोलामा पुल निर्माणको काम सुरु भएता पनि अहिले अलपत्र अवस्थामा रहेको छ । २०७८ वैशाख ७ गतेसम्म पुल निर्माण गर्नेगरी संरक्षण निर्माण सेवा प्रालि र डिभिजन सडक कार्यालय चौरजहारीबिच २०७६ असार ८ गते कार्य सम्झौता भएको थियो । मूल्य अभिवृद्ध कर बाहेक चार करोड १२ लाख ३९ हजार ३७५ निर्माण लागत रहेको उक्त पुल चार वर्षदेखि अलपत्र अवस्थामा छोडिएको छ । पुल नबन्दा पैदल यात्रुहरु, यात्रुवाहक सवारी साधनहरु, उद्योगी व्यवसायीका मालवाहक गाडीहरु, बिरामी बोकेका एम्बुलेन्सहरुले सास्ती पाइरहेका छन् ।

ठेकेदारको लापरबाहिका कारण पुल निर्माणको काम अवरुद्ध भएको भन्दै स्थानीयस्तरमा चर्को विरोध हुने गरेको छ । डिभिजन सडक कार्यालयले ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता तोड्ने तयारी भइरहेको जनाएको छ ।