• २१ असार २०८१, शुक्रबार

सहकारी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक : कांग्रेस

blog

कांग्रेसका प्रमुख सचेतक रमेश लेखक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेताहरुबिचको बैठकपछि सञ्चारमर्कीसँग कुरा गर्नुहुँदै । तस्बिर गोरखापत्र

काठमाडौँ, वैशाख ३० गते । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक हुनुभएको बताएको छ ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेताहरुबिचको बैठकमा प्रधानमन्त्री सहकारी प्रकरणको अनुसन्धान समिति बनाउन सकारात्मक हुनुभएको हो ।

छलफलपछि सञ्चारकर्मीहरुसँगको कुरा गर्नुहुँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीसँग कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाएर छानबिन हुनुपर्ने माग राखेको र प्रधानमन्त्री सो विषयमा सकारात्मक हुनुभएको बताउनुभयो ।

‘‘हामीले सहकारी सन्दर्भमा जे कुरा उठाउँदै आएका छौँ, संसदीय छानबिन समिति गठन गर्ने कुराका बारेमा हामीले आफ्ना कुरा राखेका छौँ । प्रधानमन्त्रीज्यूसँग यो बारेमा कुराकानी भयो ।,’’ प्रमुख सचेतक लेखकले भन्नुभयो, ‘‘हामीले आफ्ना कुरा राखेका छौँ । प्रधानमन्त्रीजीले सकारात्मक ढङ्गले लिनुभएको छ । सकारात्मक कुरा नै छ । हामीले हाम्रो कुरालाई यथावत राखेका छौँ । प्रधानमन्त्रीजीले सकारात्मक कुरा गर्नुभएको छ ।’’

प्रमुख सचेतक लेखकले कांग्रेसले सोमबार बस्ने संसदीय दलको बैठकबाट थप निर्णय गर्ने पनि बताउनुभयो । सोमबार कांग्रेस संसदीय कार्यसमितिको बैठक १ बजे र संसदीय दलको बैठक २ बजे बस्दैछ ।