• ११ मंसिर २०८१, मङ्गलबार

चाडका ६० लाख मानिसका लागि खाद्यान्न सहयोग आवश्यक : संयुक्त राष्ट्रसङ्घ

blog

संयुक्त राष्ट्रसङघ, वैशाख २९ गते । छिमेकी सुडानबाट पाँच लाख शरणार्थीको आतिथ्यता गरेको चाडलाई आफ्ना एक करोड ८० लाख जसङ्ख्यामध्ये एक तिहाइका लागि खाद्य सुरक्षा तथा पोषण सहायता आवश्यक रहेको संयुक्त राष्ट्रसङ्घीय मानवतावादीहरूले बताएका छन्  ।

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसिएच) ले जलवायु परिवर्तन, असुरक्षा र खाद्यान्न तथा इन्धनको मूल्यवृद्धिबाट देशभरको अवस्था बिग्रिएको जनाएको छ ।

मार्चदेखि चाडले दक्षिणमा मुसलधारे वर्षा र बाढीको सामना गरिरहेको छ । शरणार्थीहरूले देशको पूर्वमा मानवीय अवस्थालाई उल्लेखनीय रूपमा असन्तुलित बनाएका छन् भने चाडमा गैर–राज्य सशस्त्र समूहको आक्रमणले थप विस्थापन निम्त्याइरहेको छ ।

राष्ट्रसङ्घको प्रतिवेदनअनुसार २४ लाख मानिस खाद्य असुरक्षामा छन् । तीमध्ये तीन लाख मानिस गम्भीर खाद्य असुरक्षामा छन् । प्रभावकारीरूपमा कुनै ठोस सहायता प्रदान गर्न नसकिए यो सङ्ख्या असहज मौसममा ३३ लाख हुन सक्छ ।

एक अर्ब १० करोड अमेरिकी डलरको चाड मानवतावादी आवश्यकताहरू तथा २०२४ का लागि प्रतिक्रिया योजना छ दशमलव छ प्रतिशत वित्तपोषित रहेको बताइएको छ । यसमा करिब सात करोड ४० लाख डलर प्राप्त भयो ।

संयुक्त राष्ट्रसङ्घको आपतकालीन राहत संयोजक मार्टिन ग्रिफिथ्सले फेब्रुअरीमा विश्व निकायको केन्द्रीय आपत्कालीन प्रतिक्रिया कोषबाट एक करोड ५० लाख अमेरिकी डलर कोष उपलब्ध गराएको जानकारी दिनुभयो । रासस/सिन्ह्वा