• १३ साउन २०८१, आइतबार

नेपाली चलचित्रको प्रतिस्पर्धा विदेशी चलचित्रसँग हुनुपर्छ : अभिनेता आचार्य

blog

अभिनेता हरिवंश आचार्य

काठमाडौँ, वैशाख २९ गते । अभिनेता हरिवंश आचार्यले नेपाली चलचित्रको प्रतिस्पर्धा विदेशी चलचित्रसँग हुनुपर्ने बताउनुभएको छ । शनिबार चलचित्र महाजात्रा प्रदर्शनको ५१ औँ दिनको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

अभिनेता आचार्यले चलचित्र महाजात्रा दुई/तीन वटा हलमा सय दिनसम्म पनि चल्नसक्ने अनुमान गर्नुभयो । उहाँले अहिले ५१ औँ दिनसम्म पनि देशभरका १३ वटा सिनेमा हलमा चलचित्र प्रदर्शन भइरहेको बताउनुभयो । उहाँले नेपाली चलचित्रको प्रतिस्पर्धा स्वदेशीसँग नभई विदेशी चलचित्रसँग हुनुपर्ने र अर्बौँ खर्चिएर बनाएका चलचित्रलाई करोड खर्च गरेर बनाएका नेपाली चलचित्रले जित्नुपर्ने बताउनुभयो ।

‘‘दुई तीन वटा हलमा त सय दिन पुग्छ होला पक्कै पनि । अहिले १३ वटा हलमा चलिरहेको छ । बिस्तारै घट्दै घट्दै आउँछ । हामीले प्रतिस्पर्धा गर्ने अब विदेशी फिल्मसँग हो । विदेशी फिल्मसँग नेपाली फिल्मले प्रतिस्पर्धा गर्नुपर्छ । उनीहरूले धेरै पैसा अर्बौँ अर्ब खर्च गरेर बनाएका चलचित्रलाई हामीले करोड खर्च गरेर बनाएको चलचित्रले जित्नुपर्छ ।,’’ अभिनेता आचार्यले भन्नुभयो, ‘‘हाम्रो मुख्य प्रतिस्पर्धा विदेशी चलचित्रसँग हो । स्वदेशी चलचित्रसँग हामी प्रतिस्पर्धा गर्नु हुँदैन । नेपाली चलचित्रको टिमले विदेशी चलचित्रको टिमलाई जित्नुपर्छ । दर्शकले जे पस्किएर दिएपनि खानुहुन्छ भन्ने सोच्नु हुँदैन । आफूले पनि मिठो चिज पकाएर पस्किनुपर्छ । दर्शकलाई राम्रो चिज चढाउन सक्नुपर्छ ।’’

अभिनेता आचार्यले दर्शकले जे पस्किएर दिएपनि खानुहुन्छ भन्ने सोचेर चलचित्र निर्माण गर्न नहुने बताउनुभयो । उहाँले चलचित्र निर्माताले मिठो पकाएर पस्किएमात्रै दर्शकले रुचाउने बताउनुभयो ।