• ८ जेठ २०८१, मङ्गलबार

गाउँमै खाद्य डिपो स्थापना

blog

कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा स्थापना भएको खाद्य डिपो । तस्बिर : रमेश कुमार बोगटी

रमेशकुमार बोगटी 

कालिकोट, वैशाख २८ गते । कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा खाद्य डिपो स्थापना गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सहकार्यमा रास्कोट नगरपालिकाले खाद्य डिपो स्थापना गरिएको हो ।

खाद्यान्नका लागि सदरमुकाम मान्म धाउनुपर्ने बाध्यताको अन्त्य गर्न नगरपालिकामा नै खाद्य डिपोको स्थापना गरिएको हो । गाउँमै सहज र सुलभ तरिकाले खाद्यान्न आपूर्ति गर्ने उद्देश्यका साथ खाद्य डिपो स्थापना हुँदा नागरिकलाई खाद्यान्न आपूर्तिमा सहज भएको छ । 

रास्कोट नगरपालिका उपप्रमुख मनिराज बरालले खाद्य डिपो स्थापना हुँदा आम नागरिकलाई खाद्यान्न आपूर्तिमा सहज र उत्पादित रैथाने बालीलगायतका कृषिजन्य बस्तुको बजारीकरणमा सहज भएको बताउनुभयो । सरकारले खाद्यान्न निःशुल्क ढुवानी गर्ने भएकाले नागरिकले ५ देखि ७ प्रतिशतसम्म सहुलियतमा खाद्यान्न प्राप्त गर्ने सक्ने उप–प्रमुख बरालले बताउनुभयो ।

उप–प्रमुख बरालका अनुसार खाद्य डिपोबाट सान्नीत्रिवेणी, पचालझरना र पलाता गाउँपालिकाका बासिन्दालाई खाद्यान्न खरिदमा सहज हुनुका साथै डिपो स्थापनाले करिब १० हजार घरधुरी लाभान्वित हुने बताउनुभयो । रास्कोट नगरपालिका–३ को गोकर्ण सञ्यालले गाउँमै खाद्य डिपो हुँदा सस्तोमा खाद्यान्न पाइने भएपछि खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो थोरै खाद्यान्न खरिद गर्न सदरमुकाम मान्म धाउनुपर्ने बाध्यता थियो, अहिले भने सहज भएको छ ।” डिपो स्थापनापछि खाद्यान्न आपूर्ति मात्र नभ यस क्षेत्रको उत्पादनलाई बजारीकरण गर्नसमेत महत्वपूर्ण टेवा पुग्ने गाउँपालिकाले जनाएको छ ।