• ७ जेठ २०८१, सोमबार

स्वच्छ वातावरणमा पढ्न पाउने अधिकार सुनिश्चित गर्न आग्रह

blog

काठमाडौँ, वैशाख २७ गते। स्कुले बालबालिकालाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न यस क्षेत्रका विज्ञले सरकारसँग माग गर्नुभएको छ। 

बिहीबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा वातावरण विभागका वरिष्ठ प्राविधिक (उपसचिव) दीपक ज्ञवालीले हरेक नागरिकलाई स्वच्छसँग बाँच्न पाउने अधिकार भएपनि विविध कारणले यो व्यवस्था पूर्णरुपमा कार्यान्वयनमा ल्याउन नसकिएको बताउनुभयो।

वातावरणीय प्रदूषणको मुख्य असर बालबालिकामा पर्ने गरेको बताउँदै ज्ञवालीले भन्नुभयो, “पुरानो र बिग्रिएको सवारी साधनको बढ्दो प्रयोग, सवारी साधनको आवतजावत धेरै हुने क्षेत्रमा स्कुल स्थापना हुनु, खुला ठाउँमा आगो बाल्दा उत्पन्न हुने धुवाँका कारण बालबालिकाहरू प्रत्यक्ष मारमा पहिरनुभएको छ।”

वातावरणीय सन्तुलन कायम राख्न वातावरण विभाग र अन्य सरकारी निकायबिच समन्वय गराउने कानुनको अभावमा समस्या बढेको ज्ञवालीले गुनासो गर्नुभयो। 

नेपालको संविधानको धारा ३० ले हरेक नागरिकलाई स्वच्छसँग बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ। तर बढ्दो वातावरणीय प्रदूषणका कारण स्कुले बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको क्षमता अभिवृद्धि तथा सुशासन परियोजनाका प्राविधिक सल्लाहकार विजया राजवैद्यले बताउनुभयो। 

राजवैद्यले भन्नुभयो, “बालबालिका भोलिको भविष्य हुन्। तसर्थ उनीहरूलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्दै उनीहरूलाई पनि यसबारेमा सचेत गराउनुपर्छ।”

युएस एजेन्सी फर इन्टरनेशनल डेमलप्मेन्ट (युएसआइडी) को स्वच्छ हावा परियोजनाका शैक्षिक सल्लाहकार सुबिन्द्रमान श्रेष्ठले जलवायु परिवर्तन तथा पर्यावरणीय समस्या कारण हरेक वर्ष विश्वमा चार करोड भन्दा बढी बालबालिकाको पढाइमा बाधा पुगेको बताउनुभयो। नेपालको संविधान र त्यसको आधारमा बनेका थुप्रै कानुनले स्वच्छ वातावरणमा पढ्न पाउने अधिकार सुनिश्चित गरेपनि कार्यान्वयनको अवस्था फितलो रहेको बताउनुभयो।

स्वच्छ वातावरणमा पढ्न पाउने बालबालिकाको अधिकार सुनिश्चित गर्न विद्यालय तहको पाठ्यक्रममा नै यस्ता विषय समावेश गर्नुपर्ने तथा शिक्षक विद्यार्थीलाई तालिमको आवश्यकता रहेको श्रेष्ठले बताउनुभयो। वातावरणविद् भोला भट्टराईले वातावरणीय स्वच्छ कायम राख्न यस क्षेत्रमा क्रियाशील निकाबिच सहकार्य गर्नुपर्ने बताउनुभयो।