• ७ जेठ २०८१, सोमबार

वर्षासँगै किसान उत्साहित

blog

व्यास नगरपालिका–७ दुलेपानीका कृषक मकै छर्नको लागि मल पाँज्ने काम गर्दै । तस्बिर: अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, वैशाख २७ गते । वर्षा भएपछि तनहुँका कृषकहरू खुसी भएका छन् । मङ्गबार साँझदेखिको वर्षाले किसानलाई राहत पुगेको छ । वर्षाले आकाशे पानीको भर पाखो बारीमा खेती गरिने मकै, अदुवा, पिँडालु, हलेदो र तरकारी खेतीलाई सहयोग पुर्‍याको छ ।

मकै छर्न नभ्याएकाले छर्न पाएको र छरेको कृषकलाई खडेरीले सुकेको मकैलाई वर्षाले राहत मिलेको व्यास नगरपालिका–६ शिसाघाट स्थित न्यु अभियान कृषि उत्पादक कृषि सहकारीका अध्यक्ष निजावदिन मियाले जानकारी दिनुभयो ।  

कुलो, नहर, थोपाइ सिँचाइ माध्यमबाट सिँचाइ हुने जग्गामा पानीको अभाव नभए पनि पाखो बारी, सिँचाइ नलाग्ने जग्गामा लगाएका बाली खडेरीले मर्न लागेकाे  उहाँले बताउनुभयो । लामो समय समयसम्म खडेरी पर्दा समय घर्किने पिरमा परेका कृषक हाल पानी परेपछि राहत महसुस गरेको कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी किरण परियारले जानकारी दिनुभयो । वैशाखको तेस्रो हप्ता भित्र पानी नपर्दा यहाँका मुख्य बालीहरु मकै र अदुवा धेरैले लगाउन नपाएकोमा पानी परेपछि लगाउन चटारो परेको उहाँले बताउनुभयो । देवघाट ३ छिपछिपेका अदुवा उत्पादक कृषक रामबहादुर थापामगरले पानी परेपछि अदुवा लगाउन पाएको बताउनुभयो ।

  अदुवा बिक्रीबाट गत वर्ष मात्रै करिब २ लाख रुपियाँ हाता पारे पनि यस पटक समयमा नै पानी नपर्दा चिन्ता भएकोमा पानी परेपछि खुसी मिलेको बताउनुभयो । समय घर्किएपछि लगाएको अदुवाले राम्रो उत्पादन नदिने भएकोले चिन्ता परेकोमा पानी परेपछि राहत मिलेको उहाँले बताउनुभयो । । तनहुँमा १४ हजार १४० हेक्टर जमिनमा मकै र  ५ सय २२ हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिने सूचना अधिकारी परियारले जानकारी दिनुभयो । चैत्रको अन्तिम सातादेखि वैशाखको पहिलो हप्ताभित्र नै मकै छर्ने गरिएकोमा यस पटक ढिलो पानी परेकोले झन्डै एक महिना ढिलाइ भएको व्यास नगरपालिका–१२ टारस्थित ठाकुर पन्थले जानकारी दिनुभयो ।