• ६ जेठ २०८१, आइतबार

ट्राफिक नियम पालना गर्दा जीवन सुरक्षित हुन्छ : मुख्यमन्त्री अधिकारी

blog

कार्यक्रमको उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी ।

रमेश पौडेल

पोखरा, वैशाख २५ गते। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियमको पालना गर्न सके सबैको जीवन सुरक्षित हुने बताउनुभयो। 

मंगलबार गण्डकी प्रदेशका सबै जिल्लामा एकसाथ आयोजित ट्राफिक सप्ताह कार्यक्रमको पोखरामा शुभारम्भ गर्दै उहाँले सबैलाई ट्राफिक नियमको पालना गर्नका लागि आग्रह गर्दै भन्नुभयो, ‘एउटा सामान्य नियम पालना गर्दा हामी सबैको जीवन सुरक्षित हुने हुँदा नियम पालनालाई जटिल रूपमा लिनु हुँदैन। अन्यथा हाम्रो जीवनचक्र पनि चल्दैन।’’ शरीरमा रोग लाग्न नदिनका लागि आहार बिहारमा ध्यान दिए जस्तै ट्राफिक नियम पालना गर्न झन्झट नमानी सरल रूपमा लिनुपर्ने उहाँको भनाइ थियो।  

दुर्घटनाको मुख्य कारण मानवीय लापरबाही नै देखिएकाले यसलाई घटाउन सबैजना सचेत बन्नुपर्ने बताउनुभयो। मुख्यमन्त्री अधिकारीले भन्नुभयो, ‘‘यहाँ प्रस्तुत तथ्याङ्कअनुसार अधिकांश दुर्घटना मानवीय लापरबाही त्यसमा पनि नियम उल्लङ्घनबाट भएकाले नियम र पद्धतिमा चल्यौँ भने कहिल्यै समस्या हुँदैन’’, भन्नुभयो। 

मुख्यमन्त्री अधिकारीले ट्राफिक नियम उल्लङ्घनका कुराले धेरै क्षति भइरहेको हुँदा विद्यार्थीलाई यसबारे जानकारी दिन पाठ्यक्रम बनाउन सुरु गरेको र अब त्यसलाई पूर्णता दिएर कार्यान्वयनमा ल्याउने प्रतिबद्धता समेत जनाउनुभयो। ट्राफिकका सबै नियम पालना गर्दै उत्कृष्ट प्रदेश बनाउने प्रहरीको अभियानमा आफ्नो सदैव साथ रहने बताउनुभयो। 

कार्यक्रममा ७७ दशमलव २७ प्रतिशत दुर्घटना सवारीचालकको लापरबाहीका कारण हुने गरेको तथ्याङ्क सार्वजनिक गरिएको थियो। यसैगरी यात्रुका कारण ८ दशमलव ८२ प्रतिशत, यात्रुका कारण ६ दशमलव ६८ प्रतिशत र सडकका कारण ६ दशमलव ९५ प्रतिशत दुर्घटना भएका छन्।

गण्डकी प्रदेशमा यो आर्थिक वर्षमा तीन सय २२ वटा सवारी दुर्घटना हुँदा १ सय ५५ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरीको तथ्याङ्क छ। ट्राफिक सप्ताह वैशाख ३१ गतेसम्म चल्ने ट्राफिक कार्यालय पोखराका प्रमुख प्रहरी निरीक्षक भानु शर्माले बताउनुभयो। शुभारम्भ कार्यक्रम अगाडि पोखराको चिप्लेढुंगाबाट सभागृह हलसम्म मुख्यमन्त्री अधिकारीसमेतको सहभागितामा प्रभातफेरी भएको थियो।