• ६ जेठ २०८१, आइतबार

सदनलाई बाधारहित सञ्चालन गर्न सभामुखको आग्रह

blog

सभामुख देवराज घिमिरे । फाइल तस्बिर

काठमाडौँ, वैशाख २५ गते । सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठकमा प्रतिनिधिसभाको बैठकलाई नियमितरुपमा बाधारहित सञ्चालन गर्ने विषयमा छलफल भएको छ । 

सभामुखको कार्यालयमा भएको छलफलमा प्रमुख राजनीतिक दलका शीर्ष नेताले सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाएर जानुपर्ने बताउनुभएको थियो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुख घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल भएको र यो निरन्तरको प्रक्रिया भएको बताउनुभयो । सभामुख घिमिरेले भन्नुभयो, “विभिन्न समस्या आइरहन्छ, समस्याले सदनलाई अवरोध गर्नु हुँदैन । आजको बसाइँ र छलफलले यही वैशाख २८ गतेदेखि सुरु हुने बैठकलाई सहजरुपमा अगाडि बढाउने महत्त्वपूर्ण आधार तयार पारेको छ ।” 

उहाँले सदनलाई सहजरुपमा सञ्चालन गर्ने दायित्व राजनीतिक दलको भएकाले ठुला राजनीतिक दल संसद्लाई समस्याको समाधान गर्ने थलोका रूपमा अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो । संसदीय व्यवस्थामा सबै राजनीतिक शक्तिको भूमिका निर्णायक हुने र दलहरूले नै समस्या समाधानका लागि पहल गर्ने सभामुख घिमिरेको भनाइ छ । उहाँले सदनलाई प्रभावकारी बनाउन सबैको साझा र आ-आफ्नो भूमिका रहने जानकारी दिनुभयो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री रबी लामिछानेले सहकारी समस्या समाधानका लागि द्रुतमार्गमा कानुन निर्माण गर्ने विषयमा सरकारले आवश्यक प्रक्रिया थालिसकेको बताउनुभयो । 

कुनै पनि विषयमा प्रश्न उठ्ने बित्तिकै संसदीय छानबिन समिति गठन गरिहाल्नुपर्ने माग उचित नभएको उहाँको भनाइ थियो । सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकार गम्भीर रहेको र ठगी प्रकरणमा जोडिएका जीवी राईलगायतलाई पक्राउ गर्न सरकार लागिपरेको उहाँले बताउनुभयो । बैठकमा नेपाली कांग्रेसले सहकारी प्रकरणका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने विषयलाई पुनः दोहोर्‍याएको छ । 

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने र छानबिन गर्नुपर्ने आफूहरूको धारणा रहेको बताउनुभयो । “हामीले संसदीय छानबिन समितिको कुरा राखेको छौँ । हामीले गृहमन्त्रीको राजीनामा मागेका छैनौँ, प्रश्न उठेपछि संसदीय छानबिन समिति बनाउनुपर्छ भन्ने कुरा राखेका छौँ । सरकारले समिति बनाउँछ भन्ने हाम्रो विश्वास छ”, नेता लेखकले भन्नुभयो । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले सहजतापूर्वक सदनको बैठक सञ्चालनका लागि कांग्रेसले सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो । गृहमन्त्रीमाथि प्रश्न उठेका विषयमा सदनमा बोल्न दिनुपर्छ र कांग्रेस सुन्न तयार नभएपनि आफ्नो पार्टी सुन्न तयार रहेको नेता बर्तौलाले बताउनुभयो । 

सहकारीपीडितबारेमा कुनै कुरा नराखी अरूलाई निषेध गर्ने तरिकाबाट जाने कांग्रेसको तरिका सही नभएकोसमेत उहाँले उल्लेख गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सभामुखले आयोजना गर्नुभएको बैठकमा महत्त्वपूर्ण छलफल भएको र समस्या समाधानमा केन्द्रित रहेको बताउनुभयो । यही वैशाख २८ गतेदेखि सुरु हुन लागेको सङ्घीय संसद्को बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको उहाँले उल्लेख गर्नुभयो । 

बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सहकारीको रकम हिनामिनाका विषयमा उपप्रधान एवम् गृहमन्त्री लामिछानेले संसदमा बोल्न पाउनुपर्ने बताउनुभएको प्रमुख सचेतक परियारले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत प्रतिनिधि सभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूको सहभागिता थियो । रासस