जनार्जन खत्री
सर्लाही, वैशाख २५ गते । नेकपा एमाले सर्लाहीले नवौं जिल्ला अधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । मङ्गलबार नवलपुरमा पत्रकार सम्मेलन गरी चार दिनपछि सदरमुकाम मलङ्गवामा हुन लागेको जिल्ला अधिवेशनको लोगो र नारा सार्वजनिक गरिएको हो । जिल्ला अधिवेशनको लोगोमा राष्ट्रिय झण्डालाई उच्च प्राथमिकतामा राखेर जिल्लाको मुख्य आकर्षण र महत्त्वपूर्ण प्राकृतिक ताल नाढीमन तालको पुनरूत्थान गरिनुपर्ने सन्देश दिइएको छ ।
त्यस्तै मधेशको शिर मानिने जिल्लाको उत्तरी चुरेक्षेत्रको संरक्षण, जिल्लाको मुख्य उत्पादन उखु र गोलभेँडाको महत्त्व लोगोमा झल्काइएको लोगो तथा नारा तयारी उपसमितिका संयोजक चूडामणि वाग्लेले जानकारी दिनुभयो । त्यसैगरी अधिवेशनको नारा “जबजको मूल मार्ग : समृद्धिको यात्रा, सीमादेखि चुरेसम्म एमालेको झण्डा !” भन्ने तय गरिएको छ ।
यस नाराले जनताको बहुदलीय जनवादको मुख्य बाटोमा सर्लाहीको समृद्धि, विकास र हित प्रवर्धन भएको र नेकपा एमालेको प्रभाव सीमा क्षेत्रदेखि उत्तरी चुरेसम्म उस्तै उर्वर रहेको सन्देश दिने एमाले सर्लाहीले जनाएको छ । लोगो तथा नारा सार्वजनिक गर्दै एमाले सर्लाहीका अध्यक्ष राजनारायण साहले आफूहरु जिल्ला अधिवेशनलाई भव्य बनाउन लागिपरेको बताउनुभयो ।
एमाले सर्लाहीको नवौं जिल्ला अधिवेशन वैशाख ३० गते सदरमुकाम मलङ्गवामा सुरु हुँदैछ । अधिवेशनको मलङ्गवास्थित विश्वकर्मा चोकमा रहेको गोखुलराम साहको दुई बिघाको आँप बगैैँचामा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुुहुनेछ ।
अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि वैशाख ३१ गते मलङ्गवास्थित कुसुम पार्टी प्यालेसमा बन्द सत्र सुरु हुनेछ । जेठ १ गते दिनभर सर्वसम्मतिको प्रयास गरिने र सहमति जुट्न नसके जेठ २ गते मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिने पत्रकार सम्मेलनमा बताइएको छ ।
जिल्ला अधिवेशनमा आयोजक कमिटीका १४९ जना, जनसङ्गठनबाट ७४ जना, वडाबाट चयन भएर आएका ३८७ जना गरी ६१० जना र आयोजक कमिटीले मनोनित गर्ने ५ प्रतिशत मनोनीत ३१ जना प्रतिनिधि समेत गरी जम्मा ६४२ जना प्रतिनिधिले अधिवेशनको बन्द सत्र र निर्वाचन प्रक्रियामा भाग लिने छन् । अधिवेशनलाई सफल पार्न विभिन्न समिति, उपसमिति र कार्यदल गठन गरी तयारीको काम भइरहेको आर्थिक समितिका संयोजक एवं एमाले नेता रेवती पन्तले बताउनुभयो ।