• ६ जेठ २०८१, आइतबार

बुढीगङ्गामा प्रविधिमैत्री सेवा

blog

मार्तडी समाचारदाता

मार्तडी, वैशाख २५ गते । बुढीगङ्गा नगरपालिकाले सञ्चालन गरेको डिजिटल प्रविधिले नियमित सेवा सहज बनाएको छ । नगरपालिकाले लागु गरेको डिजिटल प्रविधि सेवा प्रभावकारी बनेसँगै सेवा छिटोछरितो र चुस्त भएको छ ।  

यो प्रविधिबाट काम छिटोछरितो र पारदर्शी हुँदा नागरिकमा सेवाप्रति विश्वास बढेको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथले बताउनुभयो । नगरपालिकाले दर्ता चलानी, सिफारिस, सूची दर्ता, योजना, राजस्व, व्यवसाय दर्तालगायतका कार्य डिजिटल प्रविधिबाट गर्ने गरेकोे छ । 

“प्रविधिको प्रयोगले नागरिकले पनि सहज रूपमा सेवा पाउन थालेका छन्,” उहाँले भन्नुभयो, “लामो समयदेखि डिजिटल प्रविधि नहुँदा काम गर्न निकै झन्झट हुन्थ्यो ।” 

प्रविधिको प्रयोगले सेवा लिन सहज भएको बुढीगङ्गा नगरपालिका–६ का स्थानीय हिमाल शाहले बताउनुभयो । उहाँका अनुसार सेवा चुस्तदुरुस्त र एक घण्टा लाग्ने काम एक मिनेटमा हुने गरेको जानकारी दिनुभयो । 

डिजिटल प्रविधिले दर्ता चलानी, नागरिकता सिफारिस सूची दर्ता, योजना, राजस्वलगायत सबै काम गुणस्तरीय हुनाका साथै नागरिकलाई चाँडो सेवा प्रदान गर्न सहज भएको प्रमुख प्रशासकीय अधिकृत नाथले बताउनुभयो । 

डिजिटल प्रविधिबाट सेवा प्रवाह सञ्चालन गरिसकेपछि कर्मचारीको कार्यबोझ कम गराउनुका साथै सेवाग्राही नागरिकलाई सहज रूपमा सेवा दिन र पुरानो विवरण खोज्न पनि सहज भएको छ । 

यसले राजस्व सङ्कलनमा समेत सहज भई अनावश्यक काम तथा बेथिति नियन्त्रणमा समेत भूमिका खेलेको छ । बुढीगङ्गा नगरपालिकाका तीन वडामा डिजिटल प्रविधिबाट सेवा प्रवाह भइरहेको छ ।

वडा नम्बर ४, ५ र ६ मा यो सेवा नियमित सञ्चालन भएको छ । बाँकी वडा कार्यालयमा इन्टरनेट जडानको कार्य भइरहेको प्रशासकीय प्रमुख नाथले भन्नुभयो । उहाँका अनुसार डिजिटल सेवा सबै वडामा प्रवाह गर्ने गरी काम गरिरहेका छौँ ।