• ५ जेठ २०८१, शनिबार

चिनियाँ शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन न्यूयोर्कमा सम्पन्न

blog

न्युयोर्क, वैशाख २३ गते । चिनियाँ भाषा सिकाउने सम्बन्धी २२औँ न्युयोर्क अन्तर्राष्ट्रिय सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनमा संयुक्त राज्य अमेरिका, चीन, क्यानडा, सिङ्गापुर र अन्य देश तथा क्षेत्रका सहभागीहरूले नवप्रवर्तन र दिगो विषयमा आफ्ना विचार राखेका छन् ।

चीनको साङ्घाई जिओ टोङ विश्वविद्यालयमा मानविकी विद्यालयका प्राध्यापक तथा डीनका सहायक वाङ जुनले भन्नुभयो, “विश्वभरका विश्वविद्यालय के–१२ विद्यालय, शैक्षिक संस्था र चिनियाँ शिक्षकको संयुक्त प्रयासबाट अन्तर्राष्ट्रिय चिनियाँ शिक्षामा दिगो विकास र निरन्तर समृद्धि प्राप्त गर्न सक्छौँ भन्ने हामीलाई विश्वास छ ।” के–१२ विद्यालय संयुक्त राज्य अमेरिका, क्यानडा र केही अन्य देशमा शिक्षा र शैक्षिक प्रविधिमा प्रयोग हुने शब्द, कलेजअघि सार्वजनिकरूपमा समर्थित स्कुल ग्रेडहरूका लागि छोटो रूप हो ।

न्युयोर्कस्थित चिनियाँ महावाणिज्य दूतावासका शिक्षा सल्लाहकार यु युगेनले नयाँ युगमा चिनियाँ भाषाको शिक्षाले सहयोगलाई सुदृढ गर्ने, शिक्षणको गुणस्तर सुधार गर्ने र मानिसहरूलाई प्रोत्साहन गर्ने निरन्तर प्रयासद्वारा चीनलाई अझ राम्रोसँग बुझ्न मद्दत गर्ने आशा व्यक्त गर्नुभयो ।

उक्त वार्षिक कार्यक्रम संयुक्त राज्य अमेरिकामा चिनियाँ संस्कृतिमा केन्द्रित सबैभन्दा पुरानो गैर–लाभकारी संस्थाहरू मध्येको एक चाइना इन्स्टिच्युट, ग्रेटर न्युयोर्कको चिनियाँ भाषा शिक्षक सङ्घ र साङ्घाई जिओ टोङ विश्वविद्यालयले संयुक्तरूपमा आयोजना गरेका थिए । रासस/सिन्ह्वा