• ५ जेठ २०८१, शनिबार

विस्थापित परिवारलाई निःशुल्क जग्गाधनी पुर्जा

blog

बाह्रबिसे नगरपालिकाद्वारा २२ घरधुरी परिवारलाई घर निर्माणका लागि लालपुर्जा वितरण गर्दै पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, नगरप्रमुख बालकृष्ण बस्नेत ।

चित्र मिजार 

सिन्धुपाल्चोक, वैशाख २३ गते । बाह्रबिसे नगरपालिकाले प्राकृतिक विपत्तिबाट घरबास, जमिन गुमाएका २२ घरपरिवारका विस्थापितहरूलाई आवास निर्माणका लागि निःशुल्क जग्गाधनी पुर्जा वितरण गरेको छ । 

गत साल पनि उक्त नगरले १४ घरपरिवार विस्थापितलाई लालपुर्जा प्रदान गरेको थियो । पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले विस्थापितहरूलाई जग्गाधनी पुर्जा वितरण गर्नुभएको हो । वि सं २०७७ सालदेखि बाढीपहिरो लगायतका विपत्तिबाट घरबास, जमिन गुमाएका विस्थापितहरूको पहिचान गरी सुरक्षित आवास निर्माणका लागि लालपुर्जा वितरण गरेको नगरप्रमुख बस्नेतले जानकारी दिनुभएको छ ।

सो नगरपालिकाको वडा नम्बर ३, ५,६ र ७ का २२ घरधुरी विस्थापितलाई अहिले र गत वर्ष सोही नगरको ७ नम्बर वडा टाङसारका १४ विस्थापितलाई घर निर्माणका लागि लालपुर्जा प्रदान गरिएको थियो । विस्थापितहरूलाई आवास निर्माणका लागि चार आनादेखि एक रोपनी जग्गाको लालपुर्जा प्रदान गरिएको मेयर बस्नेतले बताउनुभयो । टाङसारका विस्थापितहरूले सुरक्षित आवास बनाई बसोबास गर्दै आइरहेका छन् ।  

नगरपालिकाले १५ प्रतिशत, बागमती प्रदेश सरकार र सङ्घीय सरकारले ८५ प्रतिशत रकम व्यहोरेपछि विस्थापितहरूलाई जग्गाधनी पुर्जा प्रदान गरिएको उहाँको भनाइ छ । जग्गा खरिदका लागि तीन लाख र आवास निर्माणका लागि पाँच लाख विस्थापितहरूले पाएका छन् । घर निर्माणका लागि जग्गाको लालपुर्जा लिँदै विस्थापित कमलादेवी कार्कीले सुरक्षित घर बनाएर ढुक्कले जीवनयापन गर्ने हर्ष व्यक्त गर्नुभयो । 

यसैगरी सिन्धुपाल्चोकमा हालसम्म जग्गा खरिद गरी ४८१ विस्थापितले जग्गा खरिद गरेका छन् । उनीहरूले आवास निर्माण गरी बसोबास गर्दै आइरहेका छन् । त्यसमध्य बाह्रबिसे नगरका ३६ परिवार जग्गा खरिदको लालपुर्जा पाएका छन् ।