• ५ जेठ २०८१, शनिबार

कर्मचारीलाई पुरस्कृत गरिने

blog

रमा मोक्तान र राजेन्द्रप्रसाद चौधरी

काठमाडौँ, वैशाख २३ गते । गोरखापत्र संस्थान कर्मचारी सङ्घ, २०५२ ले संस्थानमा कार्यरत दुई जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । सङ्घको शुक्रबार बसेको बैठकले गोरखापत्र प्रकाशनको १२४ औँ वर्ष प्रवेश तथा संस्थानको ६२ औँ वार्षिकोत्सवका अवसरमा सो निर्णय गरेको हो ।

संस्थानको नगद तथा सामान्य लेखा शाखामा कार्यरत सहायक कम्प्युटर अधिकृत रमा मोक्तान र ग्राहक सेवा शाखामा वितरक पदमा कार्यरत राजेन्द्रप्रसाद चौधरीलाई ‘जयपृथ्वीबहादुर सिंह उत्कृष्ट सेवा पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उहाँहरूलाई जनही सात हजार ५५२ रुपियाँ नगदसहित सम्मानपत्र प्रदान गरिने जनाइएको छ । मोक्तान २०५० पुस ६ गते टाइपिस्ट पदमा संस्थान सेवामा प्रवेश गर्नुभएको थियो । त्यसै गरी चौधरी २०५४ साउन १७ गते सेवा प्रवेश गर्नुभएको हो । उहाँहरूलाई संस्थानको वार्षिकोत्सव समारोहमा पुरस्कृत गरिने छ ।