• ५ जेठ २०८१, शनिबार

‘गुनासो र प्राप्त सुझावलाई सम्बोधन गर्ने प्रयास रहन्छ’

blog

पाटन (ललितपुर), वैशाख २२ गते । ललितपुर महानगरपालिकाद्वारा प्रवाह हुने सेवासुविधा र आमनगरवासीको चासो, गुनासो सम्बोधन गर्न शुक्रबार सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ । 

नमुना मच्छिन्द्र माध्यमिक विद्यालय लगनखेलको प्राङ्गणमा आयोजित सार्वजनिक सुनुवाइमा नगरवासीले सामुदायिक विद्यालयलाई प्रोत्साहन हुनुपर्ने, नेवारी भाषामा पढाइने विद्यालय छुट्टै हुनुपर्ने, वातावरण प्रदूषण रोक्न ध्यान दिनुपर्ने, पूर्ण अपाङ्गता भएकालाई सहयोगी सेवाको व्यवस्थापन गर्नुपर्नेलगायतका सार्वजनिक सरोकारका विषयमा नगर प्रमुख, उपप्रमुखसहितका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत, विशिष्ट श्रेणीका कर्मचारी, महाशाखा प्रमुखलगायतको ध्यानाकर्षण गराउनुभएको थियो ।

सार्वजनिक सुनुवाइमा गुनासो राख्नुहुँदै ललितपुर-२४ धापाखेलका विजय श्रेष्ठले रिङरोड बाहिरको सडकको अवस्था खराब भएको, खानेपानीको समस्या भएको, व्यवस्थित पशु वधशाला व्यवस्थापन नहुँदा दुर्गन्धित भएकोलगायतका गुनासो राख्नुभयो । वर्षैपिच्छे सार्वजनिक सुनुवाइमा एउटै समस्या राख्नुपर्‍यो भन्दै उहाँले योजना तथा कार्यक्रम बजेट किताबमा लेख्ने मात्रैभन्दा पनि नगरबासीको समस्या समाधान हुनेगरी कार्यान्वयनमा आउनुपर्ने सुझाव राख्नुभयो ।

ललितपुर-२२ बुङ्मतीका मोहनविक्रम सिल्वालले महानगरले विभिन्न किसिमका तालिम मात्रै दिने काम गरेको र एउटै व्यक्तिलाई धेरै विषयमा तालिम दिँदा तालिमबाट उपलब्धि हासिल हुन नसकेको बताउनुभयो । उहाँले भूमिहीनको समस्या समाधानमा नगरप्रमुख उदासीन रहेको भन्दै उनीहरूको समस्या समाधानमा ध्यान दिन आग्रह गर्नुभयो । भारतबाट आयातित विषादीयुक्त तरकारी रोक्न अर्गानिक तरकारी उत्पादन हुने नेपालकै स्थानीय तहसँग भगिनी सम्बन्ध कायम गरेर त्यहाँको उत्पादनलाई यहाँ बिक्री वितरण गर्नसक्ने वातावरण तयार गर्न उहाँले आग्रह गर्नुभयो । 

ललितपुर–१२ लगनखेलका पूर्णभक्त चित्रकारले सडकपेटी बनाउने काम प्रभावकारी भएन भन्दै यसलाई व्यवस्थित गर्न आग्रह गर्नुभयो । उहाँले नाली व्यवस्थापन नहुँदा बालबालिका नालीमा खस्ने समस्या भएको र पाटन अस्पतालको आकस्मिक सेवा व्यवस्थित नभएको गुनासो गर्नुभयो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ उपाध्यक्ष सरोज सिटौलाले सार्वजनिक सवारीसाधनको व्यवस्थापनका लागि लगनखेलको बसपार्कलाई व्यवस्थित बनाइनुपर्छ भन्ने धारणा राख्नुभएको थियो । 

उहाँले यो बसपार्क अन्तर्राष्ट्रियस्तरमा पनि परिचित छ भन्नुहुँदै लामो दूरीमा चल्ने सवारीसाधनका लागि बिहानको समय व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । सार्वजनिक सुनुवाइका क्रममा उठेका प्रश्न तथा जिज्ञासाको जवाफ दिनुहुँदै नगरप्रमुख चिरीबाबु महर्जनले प्राप्त सुझावलाई बजेट बनाउने क्रममा लागू गर्ने प्रतिबद्धता जनाउनुभयो । “जनप्रतिनिधि भएपछि सबैलाई समेट्नु पर्छ । ललितपुर महानगरभित्र स्थायी र अस्थायी बसोबास गर्ने सात÷आठ लाख नागरिकको गुनासो हामीले सम्बोधन गर्नुपर्छ,” उहाँले भन्नुभयो । 

उहाँले लगनखेलमा ५० हजार लिटर पानी अटाउने सप्तपाताल पोखरी बनाउन लागिएको बताउनुभयो । नगरप्रमुख महर्जनले लगनखेल बसपार्कका लागि बनाइएको ठाउँ हैन भन्नुहुँदै रथ जात्रा र धार्मिक कार्यका लागि बनाइएको ठाउँमा बसपार्क व्यवस्थापन गर्न कठिन भएको बताउनुभयो । उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले सफा, हरियाली, उज्यालोयुक्त महानगरपालिकाका रूपमा देशभर परिचित ललितपुर महानगरलाई सुरक्षित सुशासनयुक्त तथा समृद्ध महानगर बनाउने अभियान जारी रहेको बताउनुभयो । 

उहाँले सार्वजनिक सुनुवाइबाट प्राप्त नागरिकको सुझाव, गुनासो र धारणाले जिम्मेवारी बहन गर्न सहज हुने बताउनुभयो । सामाजिक विकास समितिका संयोजक तथा प्रवक्ता राजु महर्जनले सामाजिक विकासका क्षेत्रमा उपलब्धिविहीन कार्यक्रम, तालिमलाई बन्द गर्ने बताउनुभयो । उहाँले महानगरले प्रदान गर्ने तालिमका सन्दर्भमा कार्यविधि बनाएर व्यवस्थापन गर्ने तयारी भइरहेको बताउनुभयो । महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले सहकारी ठगीमा महानगरको सहकारी महाशाखाले सबै काम गर्नसक्ने गरी व्यवस्थापन गरिएको बताउनुभयो । रासस