• १३ साउन २०८१, आइतबार

निर्माण सामग्रीसम्बन्धी विधेयकमा चार सय वटा संशोधन

blog

शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक । तस्बिर : गोरखापत्र

काठमाडौँ, वैशाख २१ गते । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकारसम्बन्धी विधेयकमा नेपाली कांग्रेसको कुनै विरोध नरहने बताउनुभएको छ । शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

कांग्रेसले आएको विधेयकलाई जस्ताको त्यस्तै पारित गर्ने कुरामा कांग्रेस सकारात्मक रहेको बताउनुभयो । उहाँले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकारको दफावार छलफल गरेर अन्तिम चरणमा पुर्‍याएको पनि जानकारी दिनुभयो ।

सभापति खतिवडाले विधेयक गम्भीर रहेकाले शिर्ष नेतृत्वसँग बसेर सकेसम्म सहमतिमै टुङ्ग्याउने पक्षमा रहेको बताउनुभयो । उहाँले अख्तियारसम्बन्धी विधेयक र भ्रष्टाचारसम्बन्धी विधेयकमा विज्ञहरुसँग छलफल गरी अघि बढाउने बताउनुभयो । उहाँले निर्माण सामग्रीसम्बन्धी विधेयकमा झण्डै चार सय वटा संशोधन परेको जानकारी दिनुभयो । निर्माण सामग्रीसम्बन्धी विधेयक अहिले राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको बताउनुभयो ।

‘‘हाम्रो पहिलो प्राथमिकता विधेयकमा नै हुन्छ । हामीले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकारको दफावार छलफल गरेर अन्तिम चरणमा पुर्‍याएका छौँ । विधेयक अलि गम्भीर र शीर्ष नेतृत्वसँग बस्नुपर्ने हुँदा सम्माननीय प्रधानमन्त्रीज्यु र पूर्वप्रधानमन्त्रीसँग बसेर सकभर सहमतिमा नै टुंग्याउने पक्षमा छौँ । हाम्रो नेपाली कांग्रेसको तर्फबाट अहिले कुनैपनि बिरोध नभएको कुरा जानकारी आएको छ । जस्तो विधेयक आएको छ, त्यसलाई पारित गर्नेकुरामा अघि बढेका छौँ । अन्तिम चरणमा छ ।,’’ सभापति खतिवडाले भन्नुभयो, ‘‘अख्तियारसम्बन्धी विधेयक र भ्रष्टाचारसम्बन्धी विधेयक छ । यो विधेयक लामो समयसम्म धेरै कुरामा असर गर्ने खालको भएकाले यो समितिका सबै मान्य सदस्यहरुलाई केही विज्ञहरुसँग राखेर पनि छलफल गर्नेछौँ । प्रमुख सचेतकहरुसँग बसेर केही विज्ञहरुसँग बसेर छलफल गर्नेछौँ । निर्माण सामग्रीसम्बन्धी विधेयक समितिमा आइसकेको छ । त्यसमा झण्डै चार सय वटा संशोधन छन् । अत्यसलाई पनि अघि बढाउनुपर्नेछ ।’’

सभापति खतिवडाले हप्तामा तीन दिन संसद चलाउने र तीन दिन समिति सञ्चालन गर्नेकुरालाई ढिला नगरी कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो ।