• ६ जेठ २०८१, आइतबार

श्रमिकका लागि ‘श्रमाधान’ सेवा सुरु

blog

काठमाडौँ, वैशाख २१ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकका समस्या, गुनासा र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यका साथ ‘श्रमाधान’ सेवा सुरु गरेको छ ।  

मे १ वा १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमिकका समस्या समाधान गर्ने गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान सेवाको सुरुवात गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बुधबार पत्रकार सम्मेलन आयोजना गरी श्रमाधान सेवाको शुभारम्भ गर्नुभयो ।

मन्त्री अर्यालले स्वदेश तथा विदेशमा रहेका श्रमिकका समस्या समाधानका लागि मन्त्रालयको कल सेन्टरले मात्रै नपुग्ने भएकाले श्रमाधान सेवाको सुरुवात गरेको बताउनुभयो । 

उहाँले यो सेवा बृहत् र व्यावहारिक योजना भएको दाबीसमेत गर्नुभयो । उहाँले श्रमाधानले श्रम र रोजगारसम्बन्धी बहुआयामिक आवश्यकताको एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्य राखेको जानकारी दिनुभयो ।

मन्त्री अर्यालले श्रमाधानमा सात वटा क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरू समावेश गरिएको जानकारी गराउनुभयो । उहाँले विदेशबाट फर्किसकेपछि श्रमिकले सिकेको सिप, पुँजी र ज्ञानलाई सम्बोधन गर्ने कार्यक्रम पनि समावेश गरिएको बताउनुभयो ।

सरकारले श्रमिकका समस्या, गुनासो वा जिज्ञासा समाधान गर्न श्रमाधान कल सेन्टरमा फोन गर्दा पैसा नलाग्ने ११४१ फोन नम्बरसमेत सार्वजनिक गरिएको छ । समस्यामा परेको श्रमिकले फोनबाट मात्रै नभएर सामाजिक सञ्जाललगायत अन्य माध्यमबाट सम्पर्क गर्न सक्ने मन्त्रालयले जनाएको छ ।