• ४ जेठ २०८१, शुक्रबार

मुग्लिङ–नारायणगढका सबै पुल निर्माण पूरा

blog

शालिग्राम नेपाल 

चितवन, वैशाख २० गते । मुग्लिङ–नारायणगढ सडकखण्डको अत्यन्तै कठिन मानिएको तुइन खोलामाथि पुल ढलान कार्य सकिएको छ ।  

दुई वर्ष लगाएर तुइन खोलानजिकको पहाड कटान कार्य सकिएपछि पुल ढलान भएको हो । ६० मिटर अग्लो पहाड कटान कार्य सकेपछि पुल निर्माणले गति लिएको नारायणगढ–मुग्लिङ सडक आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिनुभयो । 

“अन्य पुल निर्माण कार्यभन्दा यो धेरै नै कठिन रहेको थियो,” सूचना अधिकारी आचार्यले भन्नुभयो, “गत वर्ष र यो वर्ष दिउँसो सडक बन्द गराएर नै पहाड काटिएको हो ।” दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गराएर पहाड काटिएको थियो । सात मिटर चौडासम्म यातायात सञ्चालन गर्न मिल्ने र दायाँबायाँ फुटपाथलाई स्थान दिएर पुल निर्माण गरिएको छ । केही दिन अगाडि पुलको ढलाइ सम्पन्न भएको हो । 

यो सडकखण्डमा निर्माण भएका ११ वटा पुल यस अगाडि सञ्चालनमा आइसकेका छन् ।

दुई वटा पुल असारसम्म र दुई वटा पुल कात्तिक महिनाभित्र सञ्चालन हुने गरी काम भइरहेको सूचना अधिकारी आचार्यले जानकारी दिनुभयो । 

असारसम्म नाम्ची र कालीखोलामाथिको पुल सञ्चालन गर्ने तयारी छ । पुल निर्माण पूरा भएको छ र पुलको दुवैतर्फको सडक मर्मत गरेपछि सञ्चालनमा आउने छ । त्यस्तै खहरेको र तुइन खोलाको पुल ढलान कार्य सकिएर पुलको दुवैतर्फको सडक निर्माण, त्रिशूली नदीतर्फको पर्खाल निर्माण जारी छ । 

मुग्लिङ–नारायणगढ सडकखण्डमा पर्ने १५ वटा पुल निर्माण गरिएको छ । सडक निर्माणकै क्रममा पुल निर्माण थालिएको थियो । सबै पुलको गरी एक अर्ब २७ करोड रुपियाँमा निर्माण गर्ने गरी ठेक्का लागेको थियो । नयाँ पुल निर्माण सकिएपछि पुराना पुलको मर्मत कार्य सुरु हुने आयोजनाले जनाएको छ । 

नारायणगढ–मुग्लिङ सडक आयोजनाले मुग्लिङनजिकैको खहरेखोलादेखि रिग्दीखोलासम्मका सात वटा पुललाई प्याकेज–१ र जुगेडीदेखि सिमलतालसम्मका आठ वटा पुललाई प्याकेज–२ बनाएर काम अघि बढाएको थियो । प्याकेज २ अन्तर्गतका जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभानका आठ पुल हुन् । प्याकेज १ मा चिसेन्जी, काली, टोपे, न्याम्सी, रिग्दीखोलालगायतका हुन् । यो सडकखण्डका सबै पुल २५ मिटरभन्दा लामो छन् । नारायणगढ मुग्लिङ सडकखण्ड विस्तार भइसकेको तर पुलहरू साना र जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेपछि सबै पुल नयाँ बनाइएका हुन् ।