सार्वजनिक निकायहरू जनताको विश्वास र अपेक्षाका धरोहर हुन् । यिनीहरू नैतिक, जवाफदेही र सदाचारी बन्नु पर्छ । सार्वजनिक जिम्मेवारीका उच्च तहमा सदाचार र नैतिकता बलियो भएपछि मात्र त्यसको लहरे असर अग्रपङ्क्तिका निकयसम्म पुग्छ । संस्थाप्रति विश्वास जगाउने र शासकीय प्रभावकारिता देखाउने प्रमुख आधार नै व्यावसायिकता, निष्पक्षता र इमानदारी हो ।
भनिन्छ, राजनीति मूल्यमा आधारित भए लोकतन्त्र बलियो बन्छ । समग्र व्यवस्था सुशासित बनाउने मियो राजनीति हो । सरकार र राज्यका संरचना लोकतन्त्रलाई चलायमान बनाउने संयन्त्र हुन् । लोकतान्त्रिक पद्धतिमा जनताले राज्यलाई मत र कर दिन्छन् र बदलामा जाफदेहिता माग गर्छन् । जवाफदेहिता संरचनामा सरकार कर्तव्य निर्वाहक (ड्युटी होल्डर) हो भने जनता अधिकार अपेक्षी (राइट होल्डर) हुन् । कर्तव्य र अधिकारको सम्बन्धले अवसर/सेवाको प्रत्याभूति तथा आशा र आकाङ्क्षाको निर्माण माग गरेको हुन्छ । सार्वजनिक संस्था र पदाधिकारीले प्रयोग गर्ने स्रोतसाधन र शक्तिको अभ्यासमा जनभावनालाई सम्बोधन गर्न कति सक्षम भए, अभ्यासको विधि कति निष्पक्ष र आचरण स्वच्छ भयो भन्ने आधारमा जवाफदेहिता निर्धारण हुन्छ ।
सार्वजनिक पदाधिकारी र संस्थालाई व्यावसायिक, सदचारी र नैतिक बनाउन कानुन, नीति र मानकलगायतका संरचना घोषणा गरिएका हुन्छन्, जसप्रति पदाधिकारी उच्च इमानदारीमा प्रतिबद्ध हुनु पर्छ । यसैका लागि पदाधिकारीले विवेक साक्षी राखी सपथ लिएका हुन्छन् । सुशासन सार्वजनिक जीवनको साध्य हो । सुशासनका लागि नै पदाधिकारी तथा संस्थाहरू परिचालित हुन्छन्, जसमा नैतिकता, सदाचार, व्यावसायिकता मूल्य आचरण देखिनु पर्छ । यी आचरणगत पक्षले सार्वजनिक पदाधिकारी तथा संस्थालाई आदर्श अवस्थामा पु¥याउन मद्दत गर्छ ।
नेपालको शासकीय प्रणाली उल्लिखित मान्यताबाट भिन्न छैन । सैद्धान्तिक रूपमा संस्था, संरचना, नीति, मानक र जवाफदेहिताका संयन्त्र व्यवस्था गरिएका छन् । लोकतन्त्रको पुनस्र्थापनापछि उदार नीतिमा सुधारका कार्य हुँदै आएका छन् । राज्य पुनर्संरचना पनि गरिएको छ । शासकीय व्यवस्था सुधारका संरचना जनस्तरसम्म पु¥याइएका छन् तर सार्वजनिक जवाफदेहिता र नैतिक आचरण संस्थागत नभएकाले ती कुरा अनुभूत तहमा पुग्न सकेका छैनन् र जनताको तहमा निराशा बढ्दै गएको छ ।
सदाचारका प्रयास अनुभूत तहमा पुग्न नसक्नुमा त्यसको नेतृत्व, स्वामित्व संरचना, सरोकारवालाको समर्थन र स्वीकृतिको अवस्था, बोधगम्यता र सामयिकता, यसका लागि चाहिने सिप, शक्ति र कार्यसंस्कृति, वास्तविक तत्परता जस्ता पक्षहरूले प्रभाव पारेका हुन्छन् । नेपालमा सुधार प्रव्रिmया संरचनामा केन्द्रित भएका, संरचनाले सुधारबोधी व्यक्तिबाट नेतृत्व नपाई बेवारिस भएका र सधैँ सुधारलाई सतही वा ‘पोलिटिकल गिमिक’ का रूपमा लिइँदै आएको छ । त्यसैले तिनहरू जनताको अनुभूत तहमा पुगेनन्, सुशासन र सदाचारिता सधैँको एजेन्डा मात्र भयो, परिणाममा देखिएन ।
सुशासन र सदाचारितालाई संस्थागत बनाउने प्रमुख संरचनामा सार्वजनिक प्रशासन रहन्छ तर यो नै सबैभन्दा आलोचित छ । सार्वजनिक प्रशासनको नैतिकता र सदाचारिताको सवाललाई एकाङ्गी ढङ्गबाट नहेरी विस्तृत आयामबाट हेर्नु पर्ने हुन्छ । सामाजिक पर्यावरण, भर्ना छनोट एवं वृत्ति व्यवस्थापन प्रणाली, संस्थाभित्रको मूल्य अभिमूखीकरण, सङ्गठनभित्रको व्यवहार र सेवाग्राहीसँगको सम्बन्ध जस्ता पक्षबाट पनि विश्लेषण गर्नुपर्ने हुन्छ । सामाजिक मूल्य र संस्कृति ह्रासोन्मुख छ । समाजमा नैतिक मूल्य, मान्यता र असल संस्कृति स्खलित हुँदै गएको छ । निजामती कर्मचारी त्यही सामाजको उपज भएकाले सामाजिक मूल्यवृत्ति र सोच संस्कारलाई सेवाभित्र लिएर आएको हुन्छ । यदि समाज नैतिक मूल्य र आचरणमा रहेको थियो भने प्रणालीगत रूपमा निजामती सेवा बिग्रन सक्दैनथ्यो । समाज लोभी, लालची र आग्रही बन्दै गएको, सदाचार, सेवा र मानवीय मूल्य आचारणलाई आदर गर्न छाडेकाले त्यसको क्षतिपूर्ति पनि निजामती सेवाभित्रका केही कर्मचारीले खोजेका छन् । अझै पनि सबै कर्मचारीमा व्यावसायिक सदाचारिता खत्तम भइसकेको छैन, प्रणाली बिगार्न सदाचारच्युतहरूले दुरुत्साहन गरिरहका भने छन् ।
अर्को आयाम, कर्मचारी योग्यता प्रणालीबाट छानिएर त आउँछन्, तर छनोटको प्रक्रियामा उसको स्वभाव, आचरण, अभिरुचि, मूल्यवृत्ति, वृत्ति प्राथमिकता जस्ता पक्ष परीक्षण गरिएको छैन । केवल सैद्धान्तिक ज्ञान र जानकारी सङ्कलनलाई नै योग्यताका सूचक मानिएको छ । परिणामतः नैतिक आचरण र सेवाप्रतिको आत्मिक निष्ठा भएको व्यक्ति पाइएको छैन । यस अवस्थामा पेसागत मूल्य प्रवद्र्धनभन्दा पनि वृत्तिलाई अवसरका रूपमा लिई वैयक्तिक स्वार्थ पूरा गर्न लाग्छ । सङ्गठनको वृत्ति व्यवहार पनि नैतिक आचरण संस्थागत गर्ने खालका छैनन् । जहिले पनि कार्यनिष्ठ, सदाचारी र अनुशासित व्यक्ति पछि परिरहेको छ । विपरीतमा सजाय पाउनु पर्नेहरू पुरस्कृत भएका छन् । यो प्रक्रिया निरन्तर छ । यसले सदाचारी, कार्यनिष्ठ र अनुशासित हुने व्यक्ति दण्डित भएको महसुस गरिरहेका छन् । यसको प्रदर्शन प्रभाव ‘क्यास्केडिङ’ भएर फैलिएको छ ।
सेवामा प्रवेश गर्नेबित्तिकै व्यक्तिले सम्पादन गर्नुपर्ने कामको अभिमुखीकरण गरी सङ्गठन र व्यक्तिबिचको भावनात्मक मिलान गर्ने आधुनिक कर्मचारी व्यवस्थापनको प्रक्रिया छुटेको छ । त्यसैले व्यक्ति अरू नै कुरामा अभिमुखी हुन्छ । ‘प्लेजर इनरसिया’ बाट निर्देशित हुन्छ । सङ्गठनको नेतृत्व व्यवहार गर्न सक्ने सामथ्र्यबाट पर छन् । कि आफैँ नैतिक सहासमा छैनन् वा यस्ता विषयप्रति सतही छन् । यसले व्यवस्थापकीय नेतृत्वप्रति पनि ठुलो प्रश्न उठाएको छ । किनकि संस्था र कार्यप्रणाली भनेको धेरै हदमा नेतृत्व हो ।
सङ्गठनभित्रको सीमित अवसरहरू न्यायपूर्ण रूपमा वितरण भएको छैन । यस अर्थमा सङ्गठन नै नैतिक देखिएन । साथै व्यवस्थापकीय निर्णय प्रक्रिया, जानकारीको आदानप्रदान र सहभागितात्मक व्यवस्थापनको अभाव छ । त्यसैले व्यक्ति र सङ्गठन छुट्टिएको छ । सङ्गठन विकासका लागि यो साह्रै घातक हो । सेवाग्राही र प्रशासनबिचको अन्तर्क्रिया छैन, सेवाग्राही आफ्ना विषयमा हुने/भएका कामप्रति प्रश्न उठाउन र सहकार्य गर्न निष्व्रिmय छन् वा यदाकदा नराम्रा कर्मचारीसँगको ‘कोअप्सन’ मा पनि पुगेका छन् ।
प्रशासनको अभिभावकत्व लिने राजनीतिक कार्यकारी दृष्टिबोधी र मूल्यपरक छैन । उसले प्रणालीको नीति नेतृत्व लिन सकेको छैन । बरु प्रशासनिक सौदाबाजीमा रमाएको छ । असल राजनीतिक संस्कारको अभाव, राजनीतिक दलहरूभित्र आन्तरिक लोकतन्त्रको कमी, राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरण र राजनीति मूल्य, विचार र आदर्शबाट विमुख हुनु राजनीतिक तहमा रहेका चुनौती हुन् । यी चुनौतीले समाजका सबै पक्षमा प्रभाव पार्छ तर सार्वजनिक प्रशासनमा पर्ने प्रभाव सबैभन्दा गहन हुन्छ । सार्वजनिक प्रशासनको अभिभावक राजनीति भएकाले राजनीतिक संस्कृतिले प्रशासनको दैनिकी, व्यवहार र मनोविज्ञानलाई जकड्याइरहेको हुन्छ । नागरिक समाज र सार्वजनिक बौद्धिकहरू समीक्षात्मक सोच राख्नमा भन्दा आग्रह र आस्थामा विभाजित छन् । त्यसैले नागरिक तहको पहरेदारी छैन ।
जन्मले मानिस असल हुन्छ, कर्मले मात्र खराब वा असल गनिने हो । पारिवारिक, सामाजिक परिवेश, अभिमुखीकरण, रहनसहन, मूल्य संस्कृति जस्ता पक्षहरूले व्यक्तिलाई खराब वा असल बनाउँछ । जब व्यक्ति असल प्रक्रियामा लाग्छ, झनै असल र सदाचारी बन्छ, नैतिक बन्छ । मानसिक चेत, आत्मिक शक्ति र विवेकले मानिसलाई सकारात्मक बनाउँदै लान्छ । विपरीतमा जब मानिस सुखवादी सोचबाट ग्रसित हुँदै जान्छ, प्रयासभन्दा उपलब्धिको खोजी गर्छ, पसिनाबिनाको आर्जन र उपलब्धिको अपेक्षा (लोभ) गर्छ, सिर्जना र कर्मबिनाको पहिचान–प्रतिष्ठा चाहन्छ, त्यसपछि व्यक्ति च्युत बन्ने हो । लोभ (पैसा, पद, पावर, प्लेजर, प्रतिष्ठा, प्रेम आदि) नै खराब आचरणको स्रोत हो । जब व्यक्ति लोभमा पर्छ, विधि विधान र मूल्य, मान्यतालाई औपचारिक मात्र देख्छ र गर्भित रूपमा अरू नै गर्न चाहन्छ । लोभको प्रवेग आदत गतिवान् हुन्छ । अहिलेको अवस्था यही हो
अहिले पनि व्यक्ति नराम्रो काम लुकेर गर्छ, नराम्रो गरेर पनि राम्रो गरेँ भन्छ । यस अवस्थामा सदाचार कायम गर्न सकिने सम्भावना चाहिँ छ । यसका लागि विस्तृत आयाममा अभियान चाहिन्छ । सर्वप्रथम संस्थागत मूल्यको घोषणा गरिनु पर्छ । त्यो राजनीति, प्रशासन, राज्यका सबै संरचनामा चाहिन्छ । साथै व्यक्तिगत तथा नागरिक तहको कर्तव्य घोषणा गर्नु पर्छ । सार्वजनिक जिम्मेवारीमा रहनेहरूका लागि मूल्य अभिमुखीकरण, आत्मिकचेतको अन्तरबोध गराउने आध्यामिक शिक्षा जरुरी छ । महत्वपूर्ण पदमा जिम्मेवारी प्रस्ताव गर्नुअघि नागरिक परीक्षण अनिवार्य छ । यस अवस्थामा कमजोर पृष्ठभूमिका व्यक्ति जिम्मेवारी लिन हच्किने गर्छन् । सार्वजनिक सरोकारमा रहेका सबै सदचार संहितामा आबद्ध गरिनु पर्छ । निश्चित अवधिमा पदाधिकारीका काममा नागरिक विवेचना र स्वयम् मूल्याङ्कनलाई राष्ट्रिय सदाचार पद्धतिमा समेटिनु पर्छ । राज्य प्रणाली कठोर नैतिकतामा पुग्नु पर्छ । कानुनले पत्याएका संस्था न्याय, मूल्य र विश्वासका धरोहर बन्नु पर्छ । फेरि पनि भुल्नु हुन्न राज्यलाई सधैँ नैतिक मानिसहरूको खाँचो पर्छ ।