• ४ जेठ २०८१, शुक्रबार

मार्तडी–कोल्टी सडक अलपत्र

blog

रामबहादुर विक 

मार्तडी, वैशाख २० गते । बाजुरा जिल्लाको सदरमुकाम मार्तडी–कोल्टी सडकखण्ड ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ । सडक निर्माणको शिलान्यास भएको २५ वर्ष पूरा भइसक्दा पनि स्तरोन्नति हुन सकेको छैन । 

यतिका वर्षसम्म पनि सडक निर्माणमा ढिलाइ हुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । कालोपत्रे गरिसक्नुपर्ने सडक अलपत्र अवस्थामा छ । स्थानीयवासीका अनुसार सडक निर्माणको जिम्मा लिएका तीन वटा ठेकेदार कम्पनी बेपत्ता भएका छन् । 

सडक निर्माण कम्पनीले नै लापरबाही र ढिलासुस्ती गरेका कारण सडक निर्माण कार्यमा ढिलाइ भएर कालोपत्रे हुन नसकेको बताइन्छ । जिल्ला प्रशासन कार्यालयले ठेकेदार कम्पनीलाई सडक निर्माणका लागि बारम्बार ताकिता गरे पनि ढिलाइ भइरहेको छ । मार्तडी–कोल्टी सडक निर्माणका लागि २०७८ साल असारबाट काम सुरु गर्ने गरी २०७६ असारमा धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडौँ, बानियाँ कोटेश्वर जेभी प्रालि हेटौँडा  र पिएस बानियाँ जेभीले सडक निर्माण कार्यको जिम्मा लिएका थिए ।

उक्त सडकका लागि एक अर्ब ५७ करोड ७५ लाख १२ हजार रुपियाँ बजेट पनि विनियोजन गरिएको थियो । सो रकममध्ये ८८ करोड रुपियाँमा ठेक्का सम्झौता भएको थियो । सदरमुकाम मार्तडी बसपार्कदेखि चुथीसम्मको नौ किलोमिटर सडक कालोपत्रे गर्न २८ करोड रुपियाँमा धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडौँले जिम्मा लिएको थियो ।

त्यसै गरी चुथीदेखि डम्कनेसम्मको छ किलोमिटर र डम्कनेदेखि कोल्टीसम्मको २६ किलोमिटर गरी ३२ किलोमिटर सडक बानियाँ कोटेश्वर जेभी हेटौँडाले ५० करोड रुपियाँमा जिम्मा लिएको थियो । मार्तडीदेखि चुथीसम्मको नौ किलोमिटर सडक कालोपत्रे सुरु गरे पनि ३२ किलोमिटर सडक अलपत्र अवस्थामा छ । सडक स्तरोन्नतिसहित कालोपत्रे गर्न ८८ करोड रुपियाँमा ठेक्का सम्झौता गरेका यी तीन निर्माण कम्पनीमध्ये दुई कम्पनीले कछुवा गतिमा काम गरिरहेका पूर्वाधार विकास कार्यालय साँफेबगर अछामका निमित्त कार्यालय प्रमुख रुद्रबहादुर बोगटीले बताउनुभयो । 

उहाँका अनुसार २३ करोडभन्दा बढी रकम पहिलो किस्तामै भुक्तानी लिइसके पनि काममा भने ढिलासुस्ती गरिरहेका छन् । पटक पटक छिटोछरितो र स्तरीय काम गर्न ताकिता गर्दा पनि ठेकेदारहरूले आनाकानी गर्ने गरेका उहाँले बताउनुभयो । सडक निर्माण कार्यमा ढिलाइ भएपछि पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभयो । दिवा तथा रात्रि बस सञ्चालनको तयारी गरिए पनि सडक नबन्दा समस्या भएको उहाँले बताउनुभयो । 

तोकिएको समयमा काम सम्पन्न नगर्दा सडक निर्माण कार्यमा ढिलाइ भएको र काम अलपत्र अवस्थामा रहेको स्थानीय जङ्ग विकले बताउनुभयो । उहाँका अनुसार बर्खाको समय र हिउँदको हिमपातमा आउजाउ गर्न निकै सास्ती खेप्नु परेको छ । बाजुरा जिल्लाको उत्तरी क्षेत्रका नागरिकको आवतजावतमा हुने कठिनाइलाई ध्यानमा राखी बस सेवा सञ्चालन गर्ने निर्णय भए पनि नियमित हुन सकेको छैन । सो सडक कालोपत्रे भएमा उत्तरी क्षेत्रका चार स्थानीय तह, हुम्ला, मुगुका बासिन्दालाई सहज हुने स्थानीय नरबहादुर विकले बताउनुभयो । 

सो सडक निर्माणमा यसअघि कामका लागि खाद्यान्न कार्यक्रमबाट २७ करोड ४० लाख रुपियाँ, तत्कालीन जिल्ला विकास समितिबाट आठ लाख रुपियाँ, कर्णालीवरिपरिको कार्यक्रमबाट ३६ लाख रुपियाँ, उत्तरी क्षेत्रका तत्कालीन गाविसबाट २१ लाख रुपियाँ र सडक विभागबाट पाँच करोड गरी ३३ करोड ५४ लाख पाँच हजार रुपियाँ, बडीमालिका नगरपालिका र बुढीनन्दा नगरपालिकाबाट एक करोड रुपियाँ खर्च भइसकेको छ ।