• १३ मंसिर २०८१, बिहिबार

मौलिकता हराएसँगै पुर्ख्यौली पेसा सङ्कटमा

blog

मीना कंडेल

कावासोती, वैशाख १८ गते । पछिल्लो समय विभिन्न समुदायका पुर्ख्यौली पेसा लोप हुने अवस्थामा पुगेको छ । परम्परागत सीप बिक्न छाडेपछि मौलिकता नै सङ्कटमा पर्ने जोखिम बढेको हो । धेरै आयातित सामान प्रयोग गर्दा आत्मनिर्भर भन्दा परनिर्भर बनाई राखेको छ भने पुर्ख्यौली पेसाहरू लोप हुन थालेका छन् ।

नवलपुरको कावासोती नगरपालिका २ का ६५ वर्षीय तेज बहादुर विकले आरन सञ्चालन गरेरै जीविकोपार्जन गर्दै आउनुभएको छ । विगत ४० वर्षदेखि परम्परागत आरन पेसा सञ्चालन गरेर आफ्नो सात जनाको परिवार पाल्दै आउनुभएका उहाँ परम्परागत पेसा सङ्कटमा पर्न लागेको प्रति चिन्ता व्यक्त गर्नुहुन्छ ।

आफूले १०-१२ वर्षको उमेरदेखि नै आरनमा काम गर्न सिकेको जनाउँदै अहिलेका कुनैपनि युवाले यस पेसाप्रति चासो नदिएको उहाँको भनाइ छ । अचेल बजारमा हँसिया, खुकुरीदेखि सबै प्रकारका फलामका औजार पाउने भएपछि गाउँमा आरन व्यवसाय बन्द गर्ने स्थितिमा पुगेको विकले बताउनुभयो । उहाँले भन्नुभयो, “हिजोआज वनबाट गोल ( कोइला) पाउनै मुस्किल छ । गोल नभएपछि काम नै बन्द हुन्छ । काम नहुँदा आम्दानी हुँदैन ।” केही वर्षअघि सम्म परम्परागत आरन पेसाबाट राम्रो आम्दानी हुने र घरखर्च चलाउन सहज भएपनि अहिले घरखर्च चलाउन धौ धौ परेको उहाँ बताउनुहुन्छ ।

एकातर्फ गोल पाउन मुस्किल छ अर्कोतर्फ टाढा टाढाबाट ग्राहक आउने गरेको भएपनि अहिले सिजनमा एक दुई पटक मात्र आफ्नो आरनमा धार लगाउन आउने उहाँले बताउनु भयो । वनबाट गोल पाउनै छाड्दा आफूहरूको पेसा नै सङ्कटमा पर्न थालेको गुनासो गर्नुभयो । 

देवचुलीका आरन व्यवसायी शङ्कर विकले बाउबाजेले गरेको पेसालाई आफूले निरन्तरता दिए पनि कोइलाको अभाव हुँदा पुर्खौली कामलाई निरन्तरता दिन कठिन भइरहेको बताउनुभयो । गाउँघरमा समेत ग्यासको प्रयोग बढ्दो हुँदा कोइला बनाउन धेरैले छाडेको उहाँको भनाइ छ । “हामीहरूले हाम्रा बाउबाजेले गरेको काम सिकेर गर्दै आयौँ, हामी पछिका युवाले पुराना पुस्ताको सीप सिक्न मान्दैनन् ।” सहज रूपमा सामाग्री नपाइने र बनेका सामाग्री बिक्री नहुनेभएकाले वैकल्पिक पेसाको खोजीमा उनीहरू रहेको बताउनु भयो ।

परम्परागत आरन व्यवसायी सङ्घ नवलपुरका अध्यक्ष गणेश विकले सामुदायिक वनबाट सहज रूपमा गोल पाउनै नसकिने, पाएपनि महँगो पर्ने हुँदा आफूहरूको पेसा धान्नै गाह्रो भएको बताउनुहुन्छ । पछिल्लो समय फलामका औजार घर घर आउने भएकाले सुविधा भएपनि आफ्नो पेसा सङ्कटमा पर्न थालेको बताउनुभयो । 

जिल्लामा धेरैजसो दलित समुदायबाट र जिल्लाको पहाडी क्षेत्रमा मगर समुदायबाट समेत परम्परागत रूपमा आरन व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरू रहेका अध्यक्ष विकल बताउनुभयो । पुर्ख्यौली पेसालाई जोगाउन चाहेर पनि समय परिवेशले जोगाउनै मुस्किल भएको सम्बन्धित समुदायकारहरूले बताउने गर्दछन् । पुर्ख्यौली पेसाले जीविकोपार्जन गर्न मुस्किल पर्नुहुँदा यो पेसा लोप हुने अवस्थामा पुगेको विकले बताउनुभयो ।