• २० असोज २०८१, आइतबार

लगानी सम्मेलनमा भएको प्रतिबद्धताबाट नेपालको निजी क्षेत्र उत्साहित

blog

काठमाडौँ, वैशाख १८ गते । दुई दिन सञ्चालन भएको तेस्रो लगानी सम्मेलनमा भएको सहभागिता र प्रतिबद्धताबाट नेपालको निजी क्षेत्र उत्साहित भएको छ । सरकारले आयोजना गरेका विगतका दुई लगानी सम्मेलनभन्दा अहिलेको लगानी सम्मेलन सफल र फलदायी भएको भन्दै निजी क्षेत्र उत्साहित भएको हो ।

लगानी सम्मेलनमा सरकारले निजी क्षेत्रलाई सहआयोजकको रुपमा सँगै लिएर जाँदा निजी क्षेत्र सन्तुष्ट देखिएको छ । तेस्रो लगानी सम्मेलनमा करिब नौ अर्बभन्दा बढीको लगानी स्वीकृत भएको छ । निजी क्षेत्रले नेपालमा अब लगानीको ठुलो सम्भावना रहेको सन्देश विश्वमा पुगेको भन्दै अब मुलुकको आर्थिक गतिविधि चलायमान बनाउन समेत सहयोग पुग्ने वातावरण बन्ने अपेक्षा निजी क्षेत्रको छ ।

व्यवसायीहरुले विगतका लगानी सम्मेलनमा सन्तोषजनक प्रतिफल लिन नसकेको भए पनि अहिलेको लगानी सम्मेलनमार्फत प्रतिफल समेत प्राप्त हुने आशा निजी क्षेत्रको छ । निजी क्षेत्रले सरकारले लगानी सम्मेलनको मुखमा निजी क्षेत्रले माग गरे अनुसार विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउनको लागि केही कानुनहरु संशोधन गरेकाले थप आशा जागेको उनीहरुको भनाइ छ ।

सरकार लगानी प्रवर्द्धन तथा सहजता बनाउनका लागि प्रतिबद्ध रहेको सन्देश दिन सकेकाले पनि विगतको भन्दा यो लगानी सम्मेलन उत्साहका साथ सफल भएको निजी क्षेत्रको दाबी छ । देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा लिइएको निजी क्षेत्रलाई साथमा लिएर हिँड्ने सरकारी घोषणा र नेपालमा लगानी गर्न तयार रहेको विदेशी लगानीकर्ताको घोषणापछि निजी क्षेत्र उत्साहित बनेको देखिन्छ ।

सरकारले कानुन संशोधन मात्रैभन्दा पनि कार्यान्यनमा पनि तदारुकता देखाउन आवश्यक रहेको निजी क्षेत्रको माग छ । उनीहरुले सरकारले लगानी सम्मेलनमा आएका प्रतिवद्धतालाई सदुपयोग गर्नेगरी भावी दिनमा काम गर्नुपर्नेमा जोड दिए । तर विगतका लगानी सम्मेलनमा भएका प्रतिवद्धता अनुसार काम नदेखिएकाले थप चुनौतीपूर्ण छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई सहआयोजक बनाएर गरेको लगानी सम्मेलनमा निजी क्षेत्रको पनि स्वामित्व रहेको बताउनु भयो ।

उहाँले विगतका लगानी सम्मेलन भन्दा यो केही फरक भएकाले प्रतिफल आउने गरी सम्पन भएको दाबी गर्नुभयो । उहाँले स्वदेशी तथा विदेशी लगानीका लागि बाधक रहेका पुराना कानुनहरुलाई सरकारले संशोधन गरेकाले आशा जगाएको बताउनुभयो । उहाँले निजी क्षेत्रले दिएका सबै सुझावका आधारमा कानुनहरुलाई संशोधन गरेकाले लगानीको प्रतिबद्धता जनाउन लगानीकर्तालाई सहज भएको जानकारी दिनुभयो । उहाँले लगानी सम्मेलनको मुखमा आएर बिआईए गर्नसक्ने ऐन मन्त्रिपरिषदबाट पास हुँदा सरकार लगानी प्रवर्द्धनमा प्रतिवद्ध रहेको सन्देश बाहिर गएको बताउनुभयो । भारत, चीन लगायतका मुलुकबाट आएका प्रतिनिधिहरुले धेरै क्षेत्रमा लगानीको सम्भावना रहेको बताएकाले आगामी दिनमा लगानी आउने थप वातावरण बनेको उल्लेख गर्नुभयो ।

उहाँले सरकारको मात्रै नभएर सरकार बाहिरका राजनीतिक दलहरुको समेत आर्थिक एजेण्डा र लगानी बढाउने कुराहरुमा एक ठाउँमा उभिएकाले सम्मेलन सफल भएको बताउनु भयो । उहाँले नेपालमा लगानीको सम्भावना र आकर्षण रहेको सन्देश सबैतिर गएको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणाले समग्रमा लगानी सम्मेलनले राम्रो सन्देश दिएको बताउनुभयो । उहाँले लगानी सम्मेलनमा सरकारले निजी क्षेत्रका माग अनुसार केही कानुनलाई संशोधन गरेर लगानीको वातावरण बनाउने प्रतिवद्धता जनाएर कानुन संशोधन गरेकोमा थप उत्साहित भएको बताउनुभयो ।

पूर्वअध्यक्ष राणाले निजी क्षेत्रले माग गरेको ऐनहरु सरकारले संशोधन गरेर लगानीकर्ताहरुलाई राम्रो सन्देश दिन सकिएको बताउनुभयो । उहाँले कानुन संशोधन गरेर सरकार लगानीको वातावरण बनाउनको लागि प्रतिबद्ध छ भन्ने सन्देश दिइएको पनि दाबी गर्नुभयो । उहाँले स्वदेशी र विदेशी लगानीकर्ताको लागि अप्ठ्यारो अवस्थालाई सहज बनाएको बताउनुभयो । सरकारले प्रस्तुत गरेका आयोजनाहरुमा लगानीको प्रतिबद्धतालगायत केहीमा सम्झौता पनि भएको उल्लेख गर्नुभयो ।

उहाँले सरकारले गरेको कोभिडपछिको लगानी सम्मेलन विगतभन्दा सफल भएको पनि दाबी गर्नुभयो । सरकार र निजी क्षेत्रले सोचे जस्तो लगानी सम्मेलन सफल भएको उहाँको भनाइ थियो । उहाँले लगानी सम्मेलनमार्फत टेक्नोलोजी, जलविद्युत र कृषि क्षेत्रमा विभिन्न सम्झौता समेत भएकाले नेपाल लगानीको आकर्षण बन्न सफल भएको पनि बताउनुभयो । उहाँले नेपालमा भएका स्रोतहरुलाई लगानीमा परिणत गर्न सक्नुपर्ने भन्दै ठूला पूर्वाधारमा लगानीको आवश्यकता देखिएको र विदेशी लगानीकर्ताको चासो पनि त्यसैमा रहेको बताउनुभयो । उहाँले लगानी सम्मेलनमा ठुला लगानीसँगै लघुघरेलु उद्योग क्षेत्रमा समेत लगानीको कुरा गरेकाले त्यसमा जिटुजीमार्फत संयुक्तहरुमा लगानीको वातावरण बन्ने अवस्था बनेको बताउनुभयो ।

उहाँले लगानीको लागि भएका प्रतिबद्धता अनुसार तत्काल सरकारले गर्न सक्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले गरेका कानुनहरु संशोधन भए पनि कार्यान्वयन गर्नसके मात्रै विदेशी र स्वदेशी लगानीलाई फस्टाउन मद्दत पुग्ने बताउनु भयो ।

फेडरेशन अफ नेपाल एक्सपोर्ट एशोसिएशनका अध्यक्ष पवनकुमार गोल्यानले लगानी सम्मेलनले लगानीको वातावरण बनाउन खाजेको बताउनुभयो । उहाँले हरेक लगानी सम्मेलनमा लगानीको भाइब्रेट सिर्जना गरेको जानकारी दिनुभयो । उहाँले सम्मेलनबाट मुलुकका लागि आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने आशा गरेको बताउनुभयो । उहाँले सरकारको लगानीका प्राथमिक क्षेत्रहरु पर्यटन, जलविद्युत् क्षेत्रमा होमवर्क कम भएको बताउनुभयो । उहाँले सरकारले सम्मेलनमा  कृषिलाई प्राथमिकता नदिएको भन्दै असन्तुष्टि जनाउनुभयो ।

उहाँले कृषि प्रशोधन उद्योगमा विदेशी लगानी ल्याउने गरी योजना बनाउनुपर्ने बताउनुभयो । उहाँले समग्रमा लगानी सम्मेलनमार्फत लगानीको वातावरण बनाउने राम्रो प्रयास भएको बताउनुभयो । उहाँले क्षेत्रलाई समेटेर भन्दा पनि अब क्षेत्रगत प्राथमिकताका आधारमा गर्न आवश्यक देखिएको बताउनुभयो । उहाँले नेपाल लगानीको लागि सधैँ आकर्षक देश रहेको उल्लेख गर्नुभयो । उहाँले लगानी सम्मेलन सफल हुदाँ खुशी हुने मात्रै नभएर अब परिणाम आउने गरी काम गर्न जरुरी रहेको बताउनुभयो । लगानी सम्मेलनमा अन्तर्राष्ट्रिय देशहरुबाट भएको सहभागितालाई लगानीको रुपमा सरकारले ग्रहण गर्नसके मुलुकको आर्थिक विकासमा ठुलो टेवा पुग्ने बताउनुभयो ।

त्यस्तै, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य मनोज पौडेलले नेपाल वैदेशिक लगानीका लागि राम्रो गन्तव्य भएको सन्देश दिएको बताउनुभयो । उहाँले लगानीको लागि सरकारले वातावरण बनाए लगानी निजी क्षेत्रले गर्ने बताउनुभयो । उहाँले सरकारले कानुनी समस्याहरुलाई समाधानका लागि सरकारले कानुनहरु संशोधन गरेर राम्रो काम भएको बताउनुभयो । उहाँले सरकारले गरेका कानुन संशोधनले विदेशी लगानीकर्तालाई आकर्षण गरेको बताउनुभयो ।

उहाँले लगानी सम्मेलनमा उल्लेखिय सहभागिता रहेको भन्दै सम्मेलनमा विदेशी सरकारी निकायको प्रतिनिधिभन्दा पनि विदेशी निजी क्षेत्रलाई ल्याउन आवश्यक देखिएको बताउनुभयो । उहाँले लगानीको लागि नयाँ क्षेत्रमा युवाहरुलाई सहभागिता गराउने गरी सरकारले पनि सहजीकरण गर्न आवश्यक रहेको बताउनुभयो ।