• ८ जेठ २०८१, मङ्गलबार

कर्मचारीको निधनमा बकैयामा आज शोक बिदा

blog

मकवानपुरको बकैया गाउँपालिकाको कार्यालय । तस्बिरः राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, वैशाख १८ गते ।
मकवानपुरको बकैया गाउँपालिका कार्यालयले कर्मचारीको निधनमा मङ्गलबार अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने गरी शोक बिदा दिएको छ । गाउँपालिकाको कार्यालयमा नगर प्रहरी जवान पदमा कार्यरत कर्मचारी भीमसेन बजगाईँको निधनमा शोक बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठद्वारा जारी शोक बिदासम्बन्धी सूचनामा बजगाईँको असायमिक निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले अत्यावश्यक बाहेक बकैया गाउँपालिकालगायत गाउँपालिकाअन्तर्गतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक विद्यालयहरुमा सम्पूर्ण सेवा बन्द हुने गरी मङ्गलबार शोक बिदा दिने निर्णय गरेको जनाउनुभएको छ ।

धरान–चतरा–हेटौँडा सडकको बकैया गाउँपालिका वडा नं. ५ स्थित तीनतले सडक खण्डमा गत शुक्रबार हेटौँडाबाट फापरबारीतर्फ जाँदै गरेको बा२ख ६९४३ नं. बसले विपरीत दिशाबाट आइरहेको प्रदेश २–०३–०२१ प ६६१४ नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बकैया ५ को भडौराका ३५ वर्षीय बजगाईँ घाइते हुनुभएको थियो । बजगाईँको हेटौँडाको चुरेहिल अस्पतालमा आइतबार राति उपचारको क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।