• ४ जेठ २०८१, शुक्रबार

गोरखापत्र संस्थानमा तस्बिर प्रदर्शनी

blog

गोरखापत्र संस्थानमा प्रदर्शनीमा राखिएका तस्बिरहरू। तस्बिर : रासस

काठमाडौँ, वैशाख १७ गते । गोरखापत्र संस्थानले राष्ट्रिय फोटो पत्रकारिता दिवसका पारेर आयोजना गरेको पुराना तस्बिर प्रदर्शनीले त्यसबेलाका सामाजिक परिवेश, जनजीवन, रहनसहन र ऐतिहासिक घटनाक्रम बुझ्न सघाएको छ । 

धर्मपथस्थित संस्थानको मुख्य कार्यालयमा भइरहेको प्रदर्शनीमा वि.सं.२०३० देखि २०६० सम्म गोरखापत्रमा प्रकाशित तथा त्यहाँ कार्यरत फोटो पत्रकारले खिचेका श्यामश्वेत तस्बिर समावेश गरिएको छ । यही वैशाख २३ गतेसम्म चल्ने उक्त प्रदर्शनीको यही वैशाख १३ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले उद्घाटन गर्नुभएको थियो । 

चार वटा कोठामा गरिएको प्रदर्शनीमा एक सय ६० भन्दाबढी तस्बिर समेटिएका छन् । क्यामेरा र तस्बिरसँग सम्बन्धित अन्य उपकरण पनि राखिएको प्रदर्शनीमा प्रवेश निःशुल्क रहेको गोरखापत्र दैनिकका फोटोग्राफी विभाग प्रमुख रामप्रसाद हुमागाईँले जानकारी दिनुभयो । पुराना र महत्त्वपूर्ण तस्बिरका नेगेटिभ थन्किएर बसेको अवस्थामा ती नेगेटिभको महत्त्व बुझेर संरक्षण र व्यवस्थापन गर्ने सन्दर्भमा प्रमुख हुमागाईँले जानकारी दिनुभयो ।

वि.स. १९५८ वैशाख २४ गतेबाट प्रकाशन आरम्भ गरेको मुलुकको जेठो अखबार गोरखापत्र नेपाली समाज, राजनीति, जनजीवन, भाषा, संस्कृति र सम्पादासम्बन्धी जानकारी लिने महत्त्वपूर्ण दस्ताबेजका रूपमा रहेको छ । वि.सं.१९८४ वैशाख १३ गते उक्त पत्रिकाले पहिलो पटक सर्वसाधारणको तस्बिर छापेको दिनको स्मरण गर्दै राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाउने गरिएको छ । धुलो टकटक्याएर निकालिएको रिलबाट प्रिन्ट गरिएका धेरै जसो तस्बिर अहिले अवलोकन गर्न आउनेका लागि सूचनाको दरिलो स्रोत भएको छ ।

संस्थानले प्रदर्शन गरेका पुराना फोटोको रिलले करिब एक सय ५० बाकस भरिएका छन् । प्रदर्शनीका लागि छनोट भएको नेगेटिभ स्क्यानिङ गर्न पनि निकै चुनौती भएको उहाँले बताउनुभयो । अहिले तस्बिरका माध्यमबाट ३० देखि ६० को दशकसम्म राजनीतिक घटनाक्रम, सामाजिक परिवेशलगायत विविध क्षेत्र बुझ्न चाहनेलाई प्रदर्शनी उपयुक्त थलो बनेको उहाँको भनाइ छ । संस्थानले यसअघि आफ्नो स्थापना दिवसका उपलक्ष्यमा पनि यसखाले तस्बिर प्रदर्शनी गरेको थियो । यसअघि भएको प्रदर्शन राष्ट्रिय समाचार समिति (रासस)ले पनि गरेको थियो । 

३० देखि ६० को दशकमा काठमाडौँ त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म सञ्चालनमा रहेको ट्रलीवश चढ्ने घुइँचोदेखि वि.सं.२०३६ मा बिपी कोइरालाले आमसभालाई गर्नुभएको सम्बोधनसम्मका तस्बिर समेटिएको छ । दर्शकलाई बुझन र जान्न सहज होस् भनी भिडियो स्लाइडसमेत बनाइएको छ । प्रदर्शनीमा रहेकामध्ये नेकपा(एमाले)का तत्कालीन नेता वामदेव गौतमको वि.सं.२०४८ मा सांसद शपथ ग्रहणका अवसरमा खिचिएको सर्वाधिक चासोका साथ हेरिएको छ । संस्थानका पूर्व महाप्रबन्धक गोपाल चित्रकार, फोटा पत्रकारहरू विन्दुराजसिंह सुवा, रामेश्वर कायस्थ, भीम गुरुङ, भरत देउराली, नातिकाजी महर्जन, राजेन्द्र चित्रकार, शेखर चौलागाई र रमेश केसीलगायतका फोटो पत्रकार मुलुकमै यस क्षेत्रका अब्बल जनशक्ति मानिनुहुन्छ । रासस