• २ जेठ २०८१, बुधबार

रोकिएन सामुदायिक वनमा लागेको डढेलो

blog

क्पाप्सन ः आगलागि भएको बुढीनङ्गा नगरपालिका –२ को परीवन सामुदायिक वन । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की
बाजुरा, वैशाख १७ गते ।
बाजुराका नौ वटै स्थानीय तहमा रहेका सामुदायिक वनमा यती बेला दिनप्रतिदिन आगलागी हुने क्रम बढ्दै गएको छ । 

अज्ञात समूहले लगाउँने गरेको आगोबाट अहिले यहाँका झण्डै ३५ भन्दाबढी सामुदायिक वनमा ठुलो क्षति भएको छ । वनमा रहेको नयाँ तथा पुराना बोट विरुवाहरु चलेर नष्ट भएका छन् भने गाउँ बस्तीको वातावरण समेत दिनप्रतिदिन प्रदूषित बन्दै गएको छ ।

चैत महिनादेखि अहिलेसम्म बाजुराका धेरै सामुदायिक वनमा आगलागी भएको छ । वनमा कसले कसरी आगो लगायो भन्ने विषयमा भने यहाँका सम्बन्धित निकाय समेत मौन रहेको बुढीगङ्गा नगरपालिका २ का स्थानीय बीरबहादुर थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बुढीगङ्गा नगरपालिका –२ मा रहेको परीवन सामुदायिक वनमा दिउँसै आगलागी भएको हो । अहिलेसम्म त्यसको कुनै पनि केही सुनुवाइ भएको छैन ।’’

यसरी वनमा आगो लगाउनेलाई कुनै पनि कारवाही नगर्दा दिनप्रतिदिन यहाँका धेरै वनमा आगलागी हुने क्रम बढ्दै गएको थापाले बताउनुभयो ।

गत चैत २४ गते  बुढीगङ्गा नगरपालिका रातोमाटो सल्लेरी रिठा विरा डोइला खोकेला लगायत सात वटा सामुदायिक वनमा अज्ञात समूहले आगो लगाएका थिए । अहिले त्यो आगो जिल्लाका विभिन्न सामुदायिक वनमा पुगेको छ । 

यसरी दिनप्रतिदिन वनमा आगलागी हुँदा यहाँका रहेका साल, सिसाै, टुनीलगायतका बोट बिरुवा जलेर नष्ट हुने गरेका छन् ।

सामुदायिक वनको रक्षा गर्न यहाँका स्थानीयकै जिम्मेवारी बढी हुने गरेको भए पनि स्थानीयद्वारा नै सामुदायिक वनमा आगो लगाउने काम भएकोले त्यसले वातावरण प्रदूषण सँगै नयाँ उम्रेका करोडौं ससाना बोट नष्ट भएका छन् ।

मावन जीवनका लागि एक दमै महत्त्वपूर्ण रहेको वनमा पछिल्लो समय आगलागी हुन थालेपछि अहिले गाउँ बस्तीको हावापानी समेत प्रदूषण हुँदै गएको छ ।

चैतदेखि जेठसम्म वनमा आगलागी हुने सम्भावना धेरै रहेकोले यहाँका स्थानीयलाई सजग हुन लागि जिल्लास्थित विभिन्न पत्र पत्रिका मिडियामा वन डँडेलो सम्बन्धीत सुचना प्रसारण गर्दै आएको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ ।

आगलागी हुने कुरा प्राकृतिक प्रकाेपले कमै हुन्छ । यो यहाँका स्थानीयले नै आगो लगाउँने काम गर्दै आएकोले वनमा ठुलो क्षति हुँदै गएको डिभिजन वन कार्यालय बाजुराका प्रमुख भोजराज पाठकले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जुन व्यक्तिले वनमा आगो लगाएको छ , त्यो व्यक्तिलाई कारबाही गर्ने व्यवस्था भए पनि यो कुरा स्थानीयले भन्दैनन् ।”

सामुदायिक वनमा यदी कसैले जानी जानी आगो लगायो भने निजलाई ६० हजार जरिवाना र तीन महिना कैदको व्यवस्था रहेको पाठकले बताउनुभयो ।

जिल्लाका नौ वटै स्थानीय निकायमा अहिले झण्डै ३५० वटा सामुदायिक वन छन् । बाजुरामा ९४ हजार १५० हेक्टर वनको क्षेत्रफल रहेको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ ।

जिल्लाको हिमाली, जगद्दनाथ, स्वामिकार्तिक, बुढीनन्दा, बडिमालिका, गौमुल, बुढीगङ्गा, त्रिवेणी र छेडेदहलगायतका स्थानीय तहमा रहेको सामुदायिक वनमा दिप्रतिदिन आगलागी हुने क्रम बढ्दै गइरहेको छ ।  

आगो लगाउँदा वनमा गाँजो राम्रो पलाउने भएकोले यहाँका स्थानीय आफैंले आगो लगाउँने गरेको कतीपयको बुझाइ रहेको छ ।
पछिल्लो समय बाजुराका विभिन्न सामुदायिक वनमा आगलागी भइरहेकोले त्यसलाई रोक्न स्थानीयलाई सुसूचित गर्दै आएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।