• २ जेठ २०८१, बुधबार

मान्छे नडुब्ने समुद्र

blog

भाइबहिनीहरूले मृत सागरको नाम सुनेको हुनु पर्छ । नत्र गुगलमा सर्च गरे पनि धेरै जानकारी पाइन्छ  । इजरायल र जोर्डनको बिच सीमामा एउटा सागर छ । त्यस सागरलाई नै मृत सागर भनिन्छ । यस सागरको पानी अति नै नुनिलो छ । यस सागरको मुख्य स्रोत जोर्डन नदी हो । जोर्डन नदीलगायत अन्य नदीनालाबाट आउने खनिजको बढ्दो मात्राले यसलाई खनिजको भण्डार भने पनि हुन्छ । यहाँ पोटासियम कार्बोनेट, म्याग्नेसियम, क्लोराइड, ब्रोमिन जस्ता उपयोगी खनिज पदार्थ प्रशस्त मात्रामा पाइन्छन् । यस सागरमा करिब ५५ टन जति पोटास हुन सक्ने अनुमान खनिजविद्हरूले गरेका छन् । 

सन् २०१९ को अनुसार यो सागर समुद्र सतहबाट ४३०.५ मिटर तल छ भने ३०४ मिटर गहिरो छ । यस सागरले १०४९ किमी (९४०५ वर्ग माइल) क्षेत्रफल ओगटेको छ । यसको लम्बाइ ७४ किमी र चौडाइ लगभग १६ किमी छ । यो समुद्र करिब तीन लाख वर्ष पुरानो मानिन्छ भने संसारको सबैभन्दा गहिरो हाइपरसलाइन ताल पनि हो । 

यो सागरको पानी नुनिलो हुनुको पनि आफ्नै कारण छ । यसको पानी बाहिर जाने बाटो छैन तर बर्सेनि १४०० किमीका दरले यहाँको पानी वाष्पीकरण हुन्छ । पानी चाहिँ सुकेर जाने तर पानीले बगाएर ल्याएको खनिज तथा लवण भने थुप्रिँदै जाने प्रक्रियाले गर्दा मृत सागरको पानी अन्य समुद्रको भन्दा ९.६ गुणा बढी नुनिलो छ । अझ रोचक कुरा त यो समुद्रमा मान्छे डुब्दैन किन होला ? खास कारण भनेको पानी नुनिलो भएर समुद्रको पानीमा घनत्व यति धेरै छ कि यसमा पानीको बहाव तलबाट माथितर्फ हुन्छ, जसका कारण समुद्रमा सिधै सुत्दा वा हातगोडा नचालिकन बस्दा पनि नडुबेर तैरी मात्र रहन्छ । नुन र अन्य विषालु पदार्थ प्रशस्त मात्रामा पाइने भएकाले जोर्डन नदीलगायत अन्य नदीबाट आएका माछा, गोही तथा अन्य जीवित जीवहरू पनि यहाँ बाँच्न सक्दैनन् । अथवा यहाँ आइपुग्ने बित्तिकै तुरुन्तै मरिहाल्छन् । 

  

Author

दिलीपमान स्थापित