• ३१ वैशाख २०८१, सोमबार

हक्कीमा गण्डकी र आर्मी विजयी

blog

आइतबारको खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौँ, वैशाख १६ गते । छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा गण्डकी प्रदेश र विभागीय टोली आर्मी क्लबले जित निकालेको छ । आइतबार भएको पहिलो खेलमा सुदूरपश्चिम र मधेस प्रदेशले १–१ गोलको बराबरी खेले । 

सुदूरपश्चिमका लागि खेलको १४औँ मिनेटमा सन्जु चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभयो । सुदूरपश्चिमले आफ्नो अग्रता अन्तिमसम्म जोगाउन सकेन ।३४औँ मिनेटमा भूमिका कुमारीले मधेसका लागि गोल गर्दै टिमलाई बराबरीमा राख्नुभयो । 

आइतबार नै भएको दोस्रो खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई ६–० गोलले हरायो । गण्डकी  प्रदेशका लागि छैटौँ मिनेटमा सीतामाया बलले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभयो । ३६औँ मिनेटमा गीता पुनमगरले गोल गर्दै टिमलाई २–० गोलको अग्रता दिलाउनुभयो । 

३७औँ मिनेटमा सीता मायापुनले गोल गर्दै गण्डकीलाई ३–० गोलको अग्रता दिलाउनुभयो । ४५औँ मिनेटमा ज्योति काफ्लेले गोल  गरेपछिगण्डकीले ४–० गोलको अग्रता बनायो । ज्योतिले नै ५३औँ मिनेटमा गोल गरेपछि गण्डकीले ५–० गोलको अग्रता बनायो । उहाँले ५४ औँ मिनेटमा ह्याट्रिक गर्दै गण्डकीलाई  ६–० गोलको जित दिलाउनुभयो ।

अर्को सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ८–० गोल अन्तरले हरायो । सुदूरपश्चिमका लागि खेलको सन्जु चौधरी ह्याट्रिक पूरा गर्दा नमिता एसके र अनु गिरिले दुई दुई गोल गर्नुभयो । पूर्णिमा उराले एक गोल थप्नुभयो । 

अर्को खेलमा आर्मी क्लबले बागमती क्लबलाई ९–० गोलले स्तब्ध बनायो । आर्मीका लागि  सरस्वती तामाङले चार गोल गर्नुभयो ।  सीमा खड्काले दुई तथा डम्मरा भट्ट र सुनिता नेगिले एक एक गोल गर्नुभयो । प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ । 

सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइएको छ । प्रतियोगिताको विजेता टोलीले एक लाख, उपविजेताले ७५  हजार र तेस्रो हुनेले ५० हजार रुपियाँ पुरस्कार पाउनेछन् ।