• ८ जेठ २०८१, मङ्गलबार

डान्सबारमा हिंसा : अधिकांश कलेज पढ्ने किशोरी

blog

काठमाडौं, वैशाख १७ गते । काठमाडौं उपत्यकाको दोहोरी साँझ, डान्सबार, क्याविन रेष्टुरेन्ट, मसाज पार्लरलगायतका क्षेत्रमा प्रवेश गर्ने अधिकांश कक्षा दशदेखि १२ सम्म पढ्ने बालबालिका रहेको पाइएको एक अध्ययनले देखाएको छ । 

रोजगारी खोजीको सिलसिला तथा वैदेशिक यात्रामा जान चाहने लगायत जीविकोपार्जनका लागि सहजै प्रवेश गर्न पाइने भएकोले यस क्षेत्रमा लागेको उनीहरुको भनाइ छ । यसले रोजगारी सिर्जना तथा अर्थतन्त्रमा टेवा पुग्ने पक्ष एकातर्फ रहे पनि मनोरञ्जन क्षेत्रका  किशोरी एवम् युवा महिला काम खोज्दै जाँदा हिंसा, यौन दुर्व्यवहार तथा शोषण, श्रम शोषण, र बेचबिखनको उच्च जोखिममा पर्ने गरेका छन् ।

मनोरञ्जन क्षेत्रका  किशोरी एवम् युवा महिला काम खोज्दै जाँदा हिंसा, यौन दुर्व्यवहार तथा शोषण, श्रम शोषण, र बेचबिखनको उच्च जोखिममा पर्ने गरेका छन् ।

एक ३९ वर्षीय महिला कुसुम (परिवर्तित नाम) काठमाडौंस्थित दोहोरी साँझमा वेटर पेशा गर्नुभएको पाँच महिना भयो । स्थायी घर झापा बताउनुहुने ती महिला कामको खोजीमा सुरुमा जब सेन्टर पुग्नुभएको थियो । जब सेन्टरले उहाँलाई घरायसी काम दियो ।    

बिहानदेखि बेलुकासम्म न्यून पारिश्रमिकमा काम गर्नुपर्ने, र त्यसमाथि गालीगलौज सहन नसकेर उहाँ उक्त काम छोड्न बाध्य हुनुभयो । जीवन गुजार्न केही न केही काम गर्नैपर्ने बाध्यता थियो त्यसकारण उहाँले सेक्युरिटीको तालिम लिनुभयो । उक्त जब सेन्टरले सेक्युरिटी गार्डमा रोजगारी दिने आशा मात्र देखाएपछि दोहोरीमा काम गर्न बाध्य हुनुपरेको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “जब सेन्टरबाट नै म दोहोरीमा आइपुगें । यो दोहोरी साँझ हो भन्ने पनि मलाई थाहा थिएन । थौरे समय दिनमा आठ घण्टा काम गरे पुग्छ भन्ने भएपछि म यहाँ आएँ ।” यसअघि काम गरेको रेष्टुरेन्ट बन्द भएपछि पारिश्रमिक नपाएको र उक्त रेष्टुरेन्टको सबै जना हाल सम्पर्कविहीन अवस्थामा रहेको उहाँले बताउनुभयो । 

यस्तै, रामेछाप घर बताउने २० वर्षीय जुनमाया (परिवर्तित नाम) लामो समयदेखि होटल क्षेत्रमा श्रम गर्दै आउनुभएको छ । कक्षा १२ को पढाइ सकेर स्नातक तहमा पढ्दै हाल क्याटरिङ क्षेत्रमा आबद्ध उहाँले यस क्षेत्रमा पारिश्रमिक नपाइने मात्र नभ, यौनजन्य दुर्व्यवहार समेत हुने गरेको बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “क्याटरिङ क्षेत्रमा १६ वर्षभन्दा माथिका किशोरकिशोरी धेरै हुनुहुन्छ । यौनजन्य दुर्व्यवहारको हर्कत हुने गर्दछ । कहिलेकाहीं एउटै बैंक्वेटमा पाँच, छ सय जना मान्छे आउँदा दुई, चार जना त्यस्ता मान्छेहरु पनि आइदिन्छन् ।” 

दोहोरी साँझ, रेस्टुरेन्ट, डान्सबार आदि क्षेत्रमा कार्यरत श्रमिक विभिन्न हिंसा, शोषण एवम् यौनजन्य दुर्व्यवहारको शिकार मात्र बन्न पुगेका छैनन्, यो क्षेत्र विस्तारै वैदेशिक रोजगारीलगायत विभिन्न सिलसिलामा मानव बेचबिखनसम्बन्धी अपराधसँग जोडिदै गएको अध्ययनले देखाएको छ । 

सो अध्ययनका अनुसार ४६ प्रतिशत महिला वैदेशिक रोजगारीमा जान चाहेको र ७७ प्रतिशत महिलालाई सुरक्षित बसाइँसराइसम्बन्धी जानकारी नभएको पाइएको छ ।

यो क्षेत्र विस्तारै वैदेशिक रोजगारी लगायत विभिन्न सिलसिलामा मानव बेचबिखनसम्बन्धी अपराधसँग जोडिदै गएको अध्ययनले देखाएको छ । 

शुभ अवसर ग्राम नेपालले पछिल्लो आर्थिक वर्ष २०७९-८० मा काठमाडौं महानगरपालिकाको वडा नं. ३२ का कोटेश्वर, सिनामङ्गल लगायतका क्षेत्रमा एकसय १५ जना महिलामा गरेको एक सर्वेक्षणअनुसार ७० प्रतिशत महिला श्रमिकले शारीरिक दुर्व्यवहार र ७९ प्रतिशत महिलाले श्रम शोषण भोग्नुपरेको तथ्य छ ।   

यस क्षेत्रमा प्रवेश गर्नेमा कक्षा १२ पढेका ४४ प्रतिशत, कक्षा दशसम्म पढेका ३७ प्रतिशत, कक्षा एकदेखि पाँचसम्म पढेका पाँच प्रतिशत छन् । अर्थात् एकसय १५ जनामध्ये सात जना अशिक्षित र १६ जना साधारण लेखपढ गर्नसक्नेबाहेक अधिकांश किशोरी तथा युवतीहरु कक्षा दशदेखि १२ सम्म पढेका छन् ।  

अध्ययनका अनुसार मानव बेचबिखनविरुद्धको परियोजना काठमाडौंद्वारा गरिएको केश व्यवस्थापनमध्ये ८७ प्रतिशत अविवाहित, १६ प्रतिशत विवाहित, दुई प्रतिशत सम्बन्ध विच्छेद, तीन प्रतिशत एकल महिला र एक प्रतिशत लिभिङ टुगेदरसँग सम्बन्धित पीडित महिला रहेका छन् । यस्ता पीडितहरु न्यायका लागि सम्बन्धित निकायसम्म गएको अवस्थामा समेत पेशामा आबद्ध भएको नियुक्ती पत्र, नागरिकता लगायत कानुनी कागजात साथमा नहुँदा झनै मारमा पर्ने गरेका छन् । यसरी सर्वेक्षण गरेकामध्ये ५२ जनासँग नागरिकता नरहेको पाइएको थियो ।

काठमाडौं महानगरपालिका सामाजिक विकास विभागका अधिकृत भवानी कपालीले यस्ता मनोरञ्जन क्षेत्रका होटल तथा डान्सबार जस्ता अधिकांश व्यवसाय दर्ता नभएको पाइएको बताउनुभयो । 

महानगरले अनुगमनका क्रममा यस क्षेत्रका श्रमिकले मासिक आठ हजारदेखि १७ हजार रुपियाँ र कलाकारहरुले २३ देखि २५ हजार रुपियाँ पारिश्रमिकमा काम गर्ने पाइएको जनाएको छ ।

रेष्टुरेन्ट, डान्सबारमा पेय पदार्थ बाहेक केही नभएको, अत्यधिक धुम्रपान र ध्वनि प्रदूषण हुनेगरी साउण्ड स्पिकर बजाउने गरिन्छ । 

कपालीले भन्नुभयो, “खुलमखुल्ला महिला तथा बालिकाहरु ग्राहक खुशी बनाउन ग्राहकसँग टाँसिएर बोल्नुपर्ने बाध्यता छ । रेष्टुरेन्ट, डान्सबारमा पेय पदार्थ बाहेक केही नभएको, अत्यधिक धूमपान र ध्वनि प्रदूषण हुनेगरी साउण्ड स्पिकर बजाउने गरिन्छ । यो स्वास्थ्यका लागि हानिकारक छ भनेर बुझाउनुपर्छ ।”

यस क्षेत्रका ९२ प्रतिशत श्रमिकलाई नियुक्तिपत्र नदिइएको पाइएको अध्ययनले देखाएको छ । ९१ प्रतिशतले यसरी कमाएको आम्दानी छोराछोरीको पालनपोषण लगायत घरखर्चमा प्रयोग गर्नेे गरेको बताएका छन् । 

९४ प्रतिशतले रातको समयमा यातायातको सुविधा पाउने गरेको तथा छ प्रतिशतले यातायातको सुविधा नै नपाएको देखिएको छ । तर, यातायातको सुविधा पाए पनि घरसम्मै पुग्नेगरी सुरक्षित व्यवस्थापन नभएको तथा पठाऔ, इन्ड्राइभजस्ता अनलाइन माध्यममा महँगो पैसा तिर्दा पनि सुरक्षाको सुनिश्चितता नहुने सरोकारवालाले बताएका छन् । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।